अन्धकार मेरो लागि केवल प्रकाशको अनुपस्थिति होइन, यो त मेरो अस्तित्वको एउटा अविभाज्य हिस्सा हो। तर अचेल यो प्राकृतिक अन्धकारभन्दा बढी मान्छेका अपेक्षाहरूको कालो छायाले मलाई निसासिने बनाउन थालेको छ। म शिक्षक हुँ—ज्ञानको खेती गर्ने किसान। मैले त मस्तिष्कहरूमा विचारको बीउ छर्नुपर्ने थियो, तर विडम्बना! म त अचेल कसैको लाचारीको भारी बोक्ने भरिया भएको छु। मेरा यी अनुजहरू, मेरा यी तथाकथित 'शिष्यहरू', जो मेरो अगाडि आएर 'प्राज्ञिक सन्तान' बन्ने यस्तो प्रपञ्च रच्छन्, जसको देखिने पाटो त श्रद्धा जस्तो लाग्छ, तर भित्र स्वार्थको एउटा निकै धारिलो छुरी लुकेको हुन्छ। उनीहरू मलाई गुरु मान्दैनन्, उनीहरू त मलाई आफ्नो सुविधाको 'बिचौलिया' बनाउन चाहन्छन्।
कस्तो बिचित्रको समय आयो! एउटा शिक्षक, जसले स्वयं दृष्टिको चुनौतीसँग युद्ध लडिरहेको छ, उसैलाई उनीहरूले लेखन सहयोगी खोज्ने एजेन्ट सम्झिन्छन्। उनीहरूको स्वरमा एउटा यस्तो जबरजस्तीको मिठास हुन्छ, मानौँ मलाई 'पिता' को दर्जा दिएपछि मेरो कर्तव्य नै उनीहरूको परीक्षाको फारम भर्नेदेखि लिएर उनीहरूको हात समातेर परीक्षा हलसम्म पुर्याइदिने एउटा 'ठेक्का' हो। यदि म दृष्टि क्षमता भएको शिक्षक हुन्थेँ भने, सायद म कठोर बन्न सक्थेँ होला। म भन्न सक्थेँ होला— 'म सक्दिनँ, यो मेरो काम होइन, तिमी आफैँ आफ्नो बाटो खोज।' तर मेरै हातमा भएको यो 'सेतो छडी' मेरो लागि फलामको साङ्लो बनेको छ। मलाई लाग्छ, यदि मैले 'नाइँ' भनेँ भने, उनीहरूले समाजको कठघरामा उभिएर भन्नेछन्— 'आफैँले यही पीडा भोगेर आएको मान्छेले त हाम्रो मर्म बुझेन, अरूले के बुझ्लान्?' यही सहानुभूति, यही 'हाम्रै वर्गको मान्छे' भन्ने ट्याग नै मेरो जीवनको सबैभन्दा ठूलो अभिशाप बनेको छ!
म सोच्छु— यो देश, यो राजनीति र यो विश्वविद्यालयको प्रशासन कतिसम्म संवेदनहीन हुन सक्छ? विश्वविद्यालयका ती भव्य भवनहरूभित्र बस्ने 'महारथी'हरूलाई के थाहा, एउटा दृष्टि सम्बन्धी अपाङ्गता भएको शिक्षकले आफ्नो पसिना पुछ्दै, आफ्नो स्वाभिमानको पोको बोकेर कसरी कसैका लागि लेखन सहयोगीको भिक्षा माग्दै हिँड्नुपर्छ? के यो मेरो दायित्व हो? के एउटा आधुनिक शैक्षिक प्रणालीले एउटा सामान्य 'लेखन बैंक' वा एउटा सफ्टवेयरको व्यवस्था गर्न सक्दैनथ्यो? सक्थ्यो, तर उनीहरूलाई थाहा छ— यहाँ मजस्ता 'सहनशील' र 'भावुक' शिक्षकहरू छन्, जसले आफ्नै खल्तीको पैसा खर्चेर भए पनि, कसैको अनुनय-विनय गरेर भए पनि, यी शिष्यहरूको 'परीक्षाको रथ' तानिदिन्छन्। हाम्रो विवशता नै यो राज्यको सफलताको सिँढी बनेको छ। म आफैँ एउटा अपाङ्गता भएको व्यक्ति, आफैँभित्रका अनगिन्ती युद्धहरूमा घाइते सिपाही— तर मैले नै अरूको युद्धको सेनापति बनिदिनुपर्ने? यो कस्तो न्याय हो? उनीहरू मलाई एउटा 'सुविधाको मेसिन' बनाउन खोज्छन् र म यो छटपटीमा दिनदिनै पिल्सिरहन्छु।
राजनीति त यहाँको रगतमै मिसिएको छ। विश्वविद्यालयका पदाधिकारीहरूलाई आफ्ना आसेपासे भर्ना गर्न फुर्सद छैन, कलेजका युनियनहरूलाई टायर बाल्न र ताला लगाउनमै व्यस्तता छ। तर एउटा दृष्टि सम्बन्धी अपाङ्गता भएको विद्यार्थी जब परीक्षाको मुखमा लेखन सहयोगी नपाएर रुँदै मेरो ढोकामा आउँछ, तब ती राजनीतिक नाराहरू कहाँ हराउँछन्? तब त्यो प्रशासनिक नैतिकता कुन खाल्डोमा पुरिन्छ? मलाई लाग्छ, यो पूरै प्रणाली नै एउटा ठूलो नाटक हो, जहाँ हामीजस्ता मान्छेहरू केवल 'सहानुभूति' बटुल्ने पात्र मात्र हौं। उनीहरू नीति बनाउँछन्—समावेशिताको, अपाङ्गतामैत्री शिक्षाको। तर व्यवहारमा? व्यवहारमा त मलाई एउटा लेखन सहयोगी खोज्ने 'ठेकेदार' बनाइएको छ। मलाई लाग्छ, म यो विश्वविद्यालयको प्राध्यापक होइन, एउटा यस्तो ठेकेदार हुँ जसले अरूका लागि बाटो खनिदिनुपर्छ तर आफ्नो बाटोमा सधैँ अँध्यारो मात्रै पाउँछ।
कहिलेकाहीँ त मलाई यस्तो झोक चल्छ कि म एउटा भयानक र क्रूर 'मायावी' बनिदिऊँ। म चाहन्छु, उनीहरूलाई यति धेरै माया गरिदिऊँ, उनीहरूका हरेक समस्यालाई यति सजिलै समाधान गरिदिऊँ कि उनीहरूलाई लागोस् यो ब्रह्माण्डमा मबाहेक उनीहरूको अर्को कुनै सहारा नै छैन। म उनीहरूलाई सफलताको 'सगरमाथा' चढाउन चाहन्छु। उनीहरूलाई म विश्वास दिलाउन चाहन्छु कि मेरो काँधमा चढेर उनीहरूले नीलो आकाश छुनेछन्, ताराहरू टिप्नेछन्। म उनीहरूलाई विस्तारै, अत्यन्तै कोमलताका साथ, त्यो उच्च टाकुरामा लैजानेछु जहाँ अक्सिजनको अभाव हुन्छ, जहाँ खुट्टा टेक्ने जमिन एकदमै साँघुरो हुन्छ, जहाँ केवल हावाको सुसेली र एउटा भयानक शून्यता मात्र हुन्छ।
अनि त्यही शिखरमा पुगेपछि, जब उनीहरूले मेरो हात दह्रो गरी समातेका हुनेछन् र उनीहरूको अनुहारमा सफलताको एउटा घमण्डी चमक हुनेछ, म बिस्तारै, कुनै शब्द नबोली आफ्नो हात झिकिदिनेछु। म उनीहरूलाई त्यही भिरबाट एकैचोटि अनन्तको गहिराइमा गुल्टाइदिनेछु!
किन? किनकि उनीहरूले शिखरमा पुग्ने 'सङ्घर्ष' र 'कला' कहिल्यै सिकेनन्। उनीहरूले त केवल मेरो संवेदना र मेरो बाध्यतालाई सिँढी बनाउने 'चलाखी' मात्र सिके। म चाहन्छु, उनीहरूले त्यो भिरबाट खस्दै गर्दा महसुस गरून् कि अरूको वैशाखीमा टेकेर सगरमाथा चढ्नुको परिणाम कति भयावह र लज्जास्पद हुन्छ। म चाहन्छु, उनीहरूले त्यो शून्यमा खस्दा आफ्नै लाचारीको तिखो गन्ध सुँघ्न पाऊँन्। उनीहरूलाई लाग्छ— गुरुले गरिदिनुहुन्छ। उनीहरूलाई लाग्छ— यो त गुरुको धर्म हो। तर कसैले बुझ्दैन कि एउटा थाकेको काँधले कतिन्जेल अरूको भारी बोक्न सक्छ? म उनीहरूलाई त्यही भिरबाट धकेलेर यो संसारलाई देखाउन चाहन्छु कि बैसाखी बिना हिँड्न नसक्नेहरूलाई शिखरको हावाले कति छिटो उडाइदिन्छ।
म उनीहरूलाई एउटा यस्तो लज्जास्पद हारको भुमरीमा छोडिदिन चाहन्छु, जहाँ उनीहरूले आफ्नो हातमा सुनौलो अक्षरले लेखिएको डिग्रीको प्रमाणपत्र बोकेर उभिँदा पनि आफूलाई रित्तो, निरक्षर र अशिक्षित महसुस गरून्। जब उनीहरू संसारको वास्तविक मैदानमा उत्रिनेछन् र त्यहाँ उनीहरूका लागि लेखन सहयोगी खोजिदिने कुनै 'परमेश्वर गुरु' हुनेछैन, तब उनीहरूको त्यो हार कति विभत्स हुनेछ! उनीहरूलाई लाग्नेछ— उनीहरूले त केवल परीक्षाका पानाहरू भरे, जीवनको व्याकरण त पढेकै रहेनछन्। जब उनीहरूले समाजको कठोर कठघरामा उभिएर आफ्नै विचारहरू व्यक्त गर्न सक्ने छैनन्, तब उनीहरूको त्यो मौनता नै उनीहरूको सबैभन्दा ठूलो लज्जा हुनेछ।
म उनीहरूलाई घृणा गर्दिन, म त उनीहरूको त्यो 'परनिर्भर मानसिकता'को हत्या गर्न चाहन्छु। म उनीहरूलाई त्यही भिरबाट धकेल्न चाहन्छु, ताकि खस्दाखस्दै भए पनि, ज्यान जोगाउनकै लागि भए पनि उनीहरूले आफ्ना हातहरू फैलाउन र हावामा पौडिन सिकून्। यदि बाँचे भने उनीहरू 'मान्छे' बनेर बाँच्नेछन्, र यदि मरे भने उनीहरू यो भ्रष्ट, राजनीतिकरण भएको र लाचार शैक्षिक व्यवस्थाको एउटा बलिका रूपमा मर्नेछन्। मलाई मुक्ति चाहिएको छ यो 'प्राज्ञिक पिता' को मुखुण्डोबाट। मलाई मुक्ति चाहिएको छ ती आँखाहरूबाट, जो देख्दैनन् तर मलाई भने आफ्नो निजी नोकर र समस्याको समाधान गर्ने मेसिनजस्तै देख्छन्।
यो छटपटी, यो भित्री दहन! कसलाई सुनाऊँ? विश्वविद्यालयका भीसीदेखि डिनसम्म सबै त राजनीतिककै भाषा बोल्छन्। उनीहरूका लागि विद्यार्थी एउटा 'भोट' हो, एउटा 'संख्या' हो। तर मेरो लागि? मेरो लागि त ती विद्यार्थीहरू मेरो आफ्नै विवशताको ऐना हुन्। म उनीहरूमा आफ्नै विगत देख्छु, आफ्नै संघर्ष देख्छु— तर आज म उनीहरूमा एउटा 'परजीवी' प्रवृत्ति पनि देखिरहेको छु। उनीहरू संघर्ष गर्न चाहँदैनन्, उनीहरू त केवल मेरो संवेदनाको दोहन गर्न चाहन्छन्। मेरो 'प्राज्ञिक सन्तान' बनेर मलाई जबरजस्ती बाँध्न खोज्नेहरूले बुझून्— एउटा शिक्षक जब विरक्त हुन्छ, तब उसले सिर्जना होइन, विध्वंसको परिकल्पना गर्छ। म त्यही विध्वंसको पर्खाइमा छु, जहाँ यो ढोंगी 'गुरु-चेला' को सम्बन्ध खरानी बनोस्।
तर विडम्बना कस्तो छ भने, यो मेरो कल्पनाको एउटा भयानक विद्रोह मात्र हो। भोलि फेरि बिहान हुनेछ, मेरो कोठाको ढोकामा कसैले विस्तारै ढकढक्याउनेछ। फेरि कोही 'प्राज्ञिक सन्तान' बन्ने अभिनय गर्दै मेरो खुट्टामा झुत्तिनेछ र रुन्चे स्वरमा भन्नेछ, "गुरु, एउटा लेखन सहयोगी मिलाइदिनुस् न!" अनि म... म फेरि त्यही पुरानो शिक्षकको भूमिकामा फर्किनेछु। म आफ्ना सबै आक्रोशहरूलाई, आफ्ना सबै घृणाहरूलाई र आफ्ना सबै छटपटीहरूलाई यही अन्धकारको कुनै कुनामा दबाएर मधुरो स्वरमा भनूँला, "लौ हुन्छ बाबु, म कोही न कोही खोजिदिउँला।"
धिक्कार छ मेरो यो शिक्षक हुनुको धर्मलाई! धिक्कार छ मेरो यो 'सेतो छडी'लाई, जसले मलाई बाटो त देखाउँछ, तर यो आत्मग्लानि र यो पराजयको चक्रव्यूहबाट बाहिर निस्किने द्वार कहिल्यै देखाउँदैन। म यो रित्तो संसारको एउटा यस्तो सम्राट हुँ, जसको सिंहासन काँडैकाँडाले बनेको छ र जसका प्रजाहरू केवल मेरो रगत चुस्न मात्र मलाई 'महाराज' भनिरहेका छन्। यो छटपटी नै मेरो नियति हो, र यो नियति नै मेरो सबैभन्दा ठूलो र लज्जास्पद हार हो। म मुक्ति चाहन्छु, तर मलाई थाहा छ— यो अन्धकार भन्दा गाढा त यी मान्छेका स्वार्थहरू छन्, जसले मलाई कहिल्यै उज्यालोमा जान दिने छैनन्।