उज्यालो संसारमा छायो सन्नाटा,
आमा–बुबाले पाएको पूर्णता
एकैछिनमा सकियो,
अब बाँकी छ
सम्झनामा रित्तिएको काख,
आधा भरोसा,
र कहिल्यै नमेटिने प्रश्न।
ढल्यो शरीर,
उड्यो सास,
निसासिएँ,
कराएँ,
न्यायको खोजी गरेँ,
तर मेरो आवाज
मौनताले निलिदियो।
आँखा र कानमा लागेको चोट,
शरीरमा बाँकी पीडाका छाप,
तर ती सबैभन्दा गहिरो
घाउ मनमा बस्यो।
मेरो निर्दोष बाल्यकालको अन्त भयो,
मेरा परिवारका मुस्कान चुँडिए,
मेरा खेल्ने हात बाँधिए,
सपना अधुरो रह्यो,
मेरो बालपन हरायो।
अक्षर चिन्ने उमेरमा
डर चिन्यो,
खेल्ने उमेरमा
पीडा चिन्नुपर्यो,
बुझ्नै नसक्ने उमेरमा
सहनुपर्यो।
नबुझी सहनुपरेको पीडा,
समाजले गरेको मौनता,
मैले बोल्न नसकेको आवाज,
आज पनि प्रश्न बनेर उभिएको छ
न्याय कहाँ छ?
दोषीको निर्दोष बन्न खोज्ने अनुहार,
आमा–बुबाको आँसु अनि मौनता,
कानुनको ढोका,
र न्यायको प्रतीक्षा
सबैका बीचमा
एउटै आवाज बाँकी छ,
बिना गल्ती
किन सजाय?
रणभूमिमा धेरै संघर्ष गरेँ,
मेरो सामर्थ्यले भ्याएन, आमा।
मलाई जोगाउन
तिमीले कति कठिन बाटो हिँड्यौ होला,
बचाउन नसक्दा
तिम्रो मन कति रोयो होला
म शब्दमा भन्न सक्दिनँ।
अब आमा–बुबाले
‘हामी दुई र हाम्रा दुई’
भन्ने त्यो मुस्कान
फेरि कहिल्यै भन्न नपाउलान्,
किनकि उमेरले छेकिसक्यो,
समयले सपना खोसिसक्यो।
मलाई जोगाउन
कति गाह्रो भएको थियो होला,
त्यो दिन बचाउन नसक्दा
कति गाह्रो भएको होला,
मेरो अभाव महसुस गर्न
यो पीडा
सायद शब्दभन्दा पर छ।
सकिएको भविष्य होइन,
फुल्न बाँकी फूल हो,
बाल्यकाल फर्काऊ,
बिना गल्ती हराएको
त्यो निर्दोष संसार फर्काऊ।
कानुनको ढोका खुलोस्,
प्रतीक्षा अन्त्य होस्,
न्यायको आवाज सुनियोस्,
र सुरक्षित संसार बनोस्
जहाँ कुनै बालकले
आफ्नो बालपन गुमाउन नपरोस्।
रित्तिएको काखले
आज पनि सोधिरहेछ
मेरो आवाज कसले सुन्छ?
मेरो आत्मा अझै रोइरहेछ,
कसैले सुनोस्,
कसैले बुझोस्,
कसैले न्याय देओस्।
रित्तिएको काख
सधैँ रित्तै नरहोस्।