बिहानीको घामको किरण,
मलाई ढाडस दिने, विश्वास दिलाउने,
मेरा हरेक क्षणमा रमाउने,
सत्मार्गमा लाग्न प्रेरित गर्ने,
हरेक पाइला हिँड्न हौसला दिने—
तिम्रा ती हिमालजस्तै सेता दाँतका पङ्क्ति,
अनि तिम्रो त्यो निर्दोष मुस्कान।
भरिला तिम्रा पुट्टा परेका गाला,
हल्का चाउरी परेका तिम्रा हात,
ती दिनहरू सम्झेर
तिमीलाई पनि मानसपटलमा आउँदो हो
त्यो बेलाको त्यो बात।
त्यो बेला,
जुन बेला
मलाई “ताते, ताते” गर्दै
हिँड्न सिकायौ,
लड्छ कि भनेर
कति पटक मुटु कपायौ।
तिमीसँग बहस कति गरेँ होला,
झगडा पनि गरेँ होला,
तर तिम्रो आधा पेटलाई
मेरो भरिपेट बनाउन
गरेको त्यो संघर्ष
कति गाह्रो थियो होला।
रित्तो गोजी हुँदा पनि
मलाई भोको हुन नदिन
कति पटक आफू भोकै बस्यौ होला,
आफ्नो खुसीभन्दा
मेरो खुसी रोज्यौ होला।
ती आफूभन्दा ठूला
काठका मुडा,
आँगनमा पाल टाँगेर काम गर्दा
बगाएका पसिनाका धारा—
आज सम्झँदा
मनभरि आउँछन् ती दिन सारा।
जुनेली रातको टहटह,
जून–तारा लाग्दाको त्यो समय,
झ्याउँकिरीको झ्याउँझ्याउँ आवाज,
जूनकिरीले बत्ती बालेर हिँडेको त्यो समय।
घरबाट देखिने
हिमालको पाङ्ला,
चम्किलो हिउँ,
बिहानको घाम ठोक्किँदाको
त्यो रमणीय क्षण।
वर्षाको मादुरिएको भुवाल,
बर्सेभरको मेलापात,
हिउँदको सिरोटो,
कञ्चन बगिरहने घरमुनिको खोला,
खोल्साको छङ्छङ आवाज—
सबै तिमीसँगै जोडिएको
मेरो बालापनको साँचो राज।
मौरीको भुनभुन,
फूलबारीमा पुतलीको नाच,
हावाको तेज वेग,
डाँडा–लेक अनि त्यो वेग,
कोइलीको कुहुकुहु,
चराको चिरबिर।
डाँडापाखामा कुहिरो फाटेर
घाम लाग्दाको क्षण,
बारीको पातमा टल्किएको
धुलोको कण,
पसिनाको टप्टप,
मनको खटपट।
ढुङ्गाको ओढारमा
बनभात खाएको पल,
डाँडामा बोलेर हिँड्दाको क्षण,
पछ्यौरीको आडको ओत,
गोरेटो अप्ठ्यारो बाटोहरू,
लामा सुस्केराहरू—
आज पनि सम्झनामा
उस्तै छन् ती बाटाहरू।
अझै पनि
मलाई संगै देख्ने
तिम्रो बानी छ, आमा,
मेरो हरेक पाइला
आफ्नै आँखाले हेर्ने
तिम्रो कहानी छ, आमा।
आज आएर
तिम्रा ती आँखामा
आँसु देख्न नपरोस्,
मेरो कारणले
तिम्रो मन कहिल्यै नदुखोस्।
मेरा यी हातले
गम्लङ्ग अँगालो हालेर
तिमीसँग बस्न पाऊँ,
तिम्रो काखमा फेरि
त्यही बालापन खोज्न पाऊँ।
धेरै खुसी लाग्छ,
किनकि तिमी
प्रकृतिले दिएको
एउटा महत्वपूर्ण उपहार हौ।
तर तिम्रा ती आँखाबाट
आँसुका ढिक्का
बरबर लडेर बगेको देख्दा
मन कटक्क हुन्छ,
छाती भारी हुन्छ।
तिम्रा ती निर्दोष मुस्कानले
मलाई साहस दिन्छ,
तिम्रो साथले
हरेक कठिन बाटोमा
हिँड्ने आँट दिन्छ।
तिमीलाई कहिल्यै रुवाउनु नपरोस्,
तिम्रा आँखामा आँसु कहिल्यै नपरोस्,
तिम्रा हरेक सुस्केरामा
मेरो उपस्थिति जनाउन पाऊँ।
आमा,
तिमी प्रकृतिले दिएको
मेरो सबैभन्दा सुन्दर उपहार हौ—
तिम्रो मुस्कानमा
मेरो संसार छ,
तिम्रो खुसीमा
मेरो जीवन छ।
तिमी रहिरहू,
मलाई हेरी मुस्कुराइरहू,
मेरा हरेक सुस्केरामा
आफ्नो माया भरिरहू।
आमा,
तिम्रा ती आँखामा
अब कहिल्यै आँसु देख्न नपरोस्—
मेरो यी हातले
गम्लङ्ग अँगालो हालेर
सधैँ तिमीसँगै बस्न पाऊँ।
