रोल्पाको जलजलामा समय अनुसार फरक-फरक दृश्य देखिने गर्दछ । यो समय जलजला दुर्लभ फूलहरूले सजिएको छ ।जलजला रोल्पाको प्रमुख मध्ये एक पर्यटकीय ठाउँ हो । ठूलो क्षेत्रमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ ।जलजला समुद्री सतहदेखि २२०० मिटरदेखि ३८०० सय मिटर उचाइमा रहेको छ । जलजला पुग्न विभिन्न मार्गहरू प्रयोग गर्न सकिन्छ ।हरेक वर्षको बैशाख,जेठ र साउने पूर्णिमाको अवसरमा जलजलामा भव्य पूजा गरिन्छ । पूजामा जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङलगायत अन्य जिल्लाहरू बाट पनि पूजा गर्न र घुम्न आउँछन् ।जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत हो ।सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै सुरु गरेको थियो । जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो ।अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरूलाई सहज होस् भनेर जलजलामा ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ ।जलजलामा अहिले फुलेका फूलहरुले झनै सुनदरता थपिदिएको छ । हाल यहाँको जमिन कपासमा टेके जस्तो लाग्ने, पानी नै पानीले भरिएको जस्तो महसुस गर्न सकिन्छ । अगाडि निलो आकाशमुनि हरिया साना थुम्काहरू देखिन्छन् ।जलजलाको अर्को आकर्षण भनेको सेतो गुराँस हो । जलजलामा घोरल, थार,मृग, बँदेल, भालु जस्ता जङ्गली जनावरसमेत पाइने गर्दछ । साथै धुपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति तथा थुप्रै जडीबुटीसमेत पाइन्छ ।यस्तै डाँफे, मुनाल, कालिज, बाघ, भालुलगायत पक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ । युद्ध कालदेखि नै जलजलामा बस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ ।जलजलाको आफ्नै पहिचान र ऐतिहासिकता बोकेको छ । यसको दृश्य शब्द र तस्वीरले मात्रै वर्णन हुँदैन । महिनैपिच्छे जलजलाको फरक-फरक दृश्यावलोकन गर्न सकिन्छ । फागुन, चैत, वैशाखमा लाली गुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिदिन्छ । असार, साउन, भदौ र असोज महिनामा दुर्लभ फूलहरूले सिँगारिन्छ ।जलजला अहिले सयौं बुकी फूलहरूले सजिएको छ । फूलमा रमाएका चराहरूको चिरबिर आवाजले जलजला गुञ्जायमान छ।