मानराजा धर्मशाला बन्यो गुइँठा राख्ने ठाउँ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरीको बोदेबरसाईन नगरपालिकामा निर्माणाधीन विवाह मण्डप तथा  धर्मशाला अलपत्र पर्दा गुइँठा राख्ने ठाउँमा परिणत भएको छ।

बोदेबरसाईन नगरपालिकाले वडा नम्बर- ७ मानराजास्थित सुगा पोखरीको डिलमा आर्थिक वर्ष २०७५-०७६ मधेश प्रदेश सरकार ससर्त अनुदानअन्तर्गत विवाह मण्डप तथा धर्मशाला निर्माणका लागि २५ लाख विनियोजन भएकोमा  १५ लाख ७९ हजार २ सय ९७ रूपैयाँ खर्चिएर बजेट अभावमा भवनको निर्माणकार्य अधुरो छाडिएको छ ।

यस्तै सोही ठाउँमा संघीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष  २०७६/०७७ मा धर्मशाला सुरू भएको धर्मशाला थप बजेट विनियोजन हुन नसक्दा अलपत्र परेको हो ।

यी  दुईवटा योजना  बोदेबराईन नगरपालिकाले सञ्चालनमा ल्याएको थियो । थपबजेट विनियोजन नहुदा यी दुवै योजना  अलपत्र अवस्थामा रहेका छन् ।

स्थानीय स्तरमा सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको धर्मशाला लामो समयदेखि अधुरै अवस्थामा छाडिँदा उपयोगविहीन बनेको छ ।

स्थानीयवासीका अनुसार धर्मशाला निर्माण कार्य सुरुवात भए पनि सम्बन्धित निकायको बेवास्ता र कमजोर अनुगमनका कारण काम अघि बढ्न सकेको छैन। भवन अधुरै अवस्थामा रहँदा अहिले त्यहाँ गुइँठा  राख्ने गरिएको छ । भवनमा झाडी उमरेर भवन जिर्ण बनी रहेको छ ।

स्थानीयहरूले राज्यको लगानी खेर गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘समाजका लागि उपयोगी हुने संरचना बन्ने आशा गरेका थियौं, तर अहिले गुइँठा राख्ने ठाउँ बनेको छ’,  स्थानीय अजय यादवले गुनासो गरे ।

धर्मशाला निर्माणमा खर्च भएको बजेट र यसको वर्तमान अवस्थाले राज्यको लगानी दुरुपयोग भएको स्पष्ट देखिएको स्थानीयहरूको भनाइ छ ।

स्थानीयवासीले निर्माण कार्य छिटो सम्पन्न गरी धर्मशालालाई उद्देश्यअनुसार सञ्चालनमा ल्याउन स्थानीय सरकारले थप बजेट विनियोजन गर्नुपर्ने मांग गरेका छन् ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।