बाजुरा–हुम्ला सीमा विवाद : अध्ययन गर्न समिति गठन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।

नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन भएको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।

त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लियर कुटपिटको घटना भएको थियो ।

हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच  रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।

विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनसहित पुगेर भिडिओ बनाउन खोज्दा स्थिति असामान्य बनेर झडपमा परिणत भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।