चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो । तर, त्यहाँसम्म पुग्नका लागि जति पाइला हिँडिन्छ, त्यसको अर्कै मज्जा छ ।यसपालि अलि घमाइलो मौसम पारेर हामी चम्पादेवीतर्फ लागेका थियौं । चम्पादेवी हाइकिङ जाने विभिन्न रुटमध्ये काठमाडौंको बल्खु–दक्षिणकाली सडकमा पर्ने चाल्नाखेलबाट हाम्रो यात्रा सुरु भयो ।शहरको कोलाहल र व्यस्तताबाट केही पर पुग्नासाथ बाटोको परिवेश बदलिन थाल्छ । बिस्तारै उकालो लाग्दै जाँदा हरियाली, वनको शान्त वातावरण, बाटोछेउ फुलेका विभिन्न प्रजातिका रंगीचंगी फूल तथा चिसो हावाले यात्रालाई थप रमाइलो बनाउँछ।असोजको सुरुवातसँगै मनसुनको बिदाइ र शरद ऋतुको आगमन सम्मुखमा छ । कहिले घाम, कहिले बादलको लुकामारी । सफा हुँदै गएको आकाश, हरिया डाँडाकाँडा र चलिरहेको चिसो हावाले हाइकिङको आनन्दलाई अझ बढाइरहेको थियो।करिब ३–४ घण्टाको पैदल यात्रामा उकालो र ओरालो गरिरहँदा बालबालिकादेखि वृद्धवृद्धासम्म र युवायुवतीका समूह भेटिन्छन् । कोही साथीभाइसँग गफिँदै र रमाउँदै हिँडिरहेका हुन्छन्, कोही थकाइ मार्दै वरिपरिका दृश्य नियालिरहेका हुन्छन् भने कोही मोबाइल र क्यामेरामा यात्राका क्षण कैद गरिरहेका देखिन्छन् ।यात्राकै क्रममा कतैबाट टौदह, सिकाली चौर, बागमती नदी र काठमाडौं उपत्यकाको फराकिलो भू–दृश्य देखिन्छ । माथि पुग्दै जाँदा शहरको भिडभाड क्रमशः टाढिँदै जान्छ र प्रकृतिसँगको दूरी छोटिँदै गएको अनुभूति हुन्छ ।चम्पादेवीको सानो मन्दिरसम्म पुग्नु यात्राको एउटा गन्तव्य अवश्य हो । तर यो यात्राको सुन्दरता गन्तव्यमा मात्र सीमित छैन । बाटोमा भेटिने फूल, वनको हरियाली, चिसो हावा, साथीभाइसँगको हाँसो र बीच–बीचमा देखिने उपत्यकाका दृश्यले यात्रालाई नै सम्झनलायक बनाउँछन्।सायद त्यसैले चम्पादेवी यात्रा केवल एउटा हाइकिङ रुट होइन– केही घण्टाका लागि भए पनि शहरको व्यस्तताबाट बाहिर निस्किएर बाटोसँगै रमाउने अवसर हो ।यिनै विविध अनुभवका कारण चम्पादेवी काठमाडौं उपत्यका वरपरका आकर्षक हाइकिङ रुटमध्ये एक बनेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।