साउदी अरबमा १३ वर्ष सवारी चालकको काम गरेपछि स्वदेश फर्किएका पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले सुरुमा तीनवटा गाईभैँसी किनेका थिए । विदेशको रोजगारी छाडेर गाउँमै थालेको त्यो सानो व्यवसाय अहिले उनको परिवारको आम्दानीको मुख्य आधार बनेको छ । १४ वटा गाईभैँसी पालिरहेका क्षेत्री दूध बेचेरै मासिक एक लाख रुपैयाँभन्दा बढी बचत गर्छन् ।साउदी अरबमा बिरामी भएपछि स्वदेश फर्किएका क्षेत्रीले अन्य रोजगारीको विकल्प नदेखेपछि विसं २०७३ मा ‘गोमा गाईभैँसी फार्म’ सुरु गरेका थिए । अहिले फार्मबाट दैनिक करिब ९० लिटर दूध बिक्री हुन्छ । दूध बिक्रीबाट दैनिक करिब दुई हजार सात सय रुपैयाँ आम्दानी हुने र दाना, औषधि तथा व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी बचत हुने उनले बताए ।दूधसँगै क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्दै आएका छन् । ‘अहिले व्यवसायमा घाटा छैन । मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ’, क्षेत्रीले भने, ‘पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपथ्र्यो । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।’पशुपालनबाट भएको आम्दानीले उनले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन् । व्यवसाय विस्तारका क्रममा करिब ६० लाख रुपैयाँसम्म ऋण लागेको भए पनि फार्मबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए ।फार्ममा क्षेत्री र उनकी श्रीमती गोमा स्वरोजगार छन् भने एक जनालाई रोजगारीसमेत दिएका छन् । कोरोना महामारीका बेला बजारमा दूध पुर्याउन नसक्दा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उनले स्मरण गरे ।सुरुआती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नहुँदा विभिन्न समस्या भोगेका क्षेत्रीले पछिल्लो समय गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरेका छन् .तालिम तथा व्यावसायिक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उनले बताए । ‘पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन’, उनले भने, ‘तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।’फर्से र लस्तीका किसानले उत्पादन गरेको दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरी बागलुङमा बजारीकरण गर्दै आएको छ । सहकारीका सचिव खड्ग केसीका अनुसार ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटरसम्म दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्ने गरिएको छ ।जलजला गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ ।क्षेत्रीले फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० पुर्याउने योजना बनाएका छन् । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरण विस्तार गर्ने उनको योजना छ ।पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौती रहेको क्षेत्रीले बताए । गाईभैँसीको नियमित हेरचाह, दानापानी र सरसफाइका लागि निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ ।विदेशमा बिताएको १३ वर्षपछि गाउँ फर्किएका क्षेत्रीका लागि तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसाय अहिले नियमित आम्दानीको स्रोत बनेको छ । वैदेशिक रोजगारीको विकल्प खोज्दै सुरु गरेको पशुपालनले उनको परिवारको आर्थिक अवस्था बदल्नुका साथै गाउँमै स्वरोजगारको आधारसमेत तयार गरेको छ ।