वृद्धाश्रम होइन विचार केन्द्र


जीवनमा अघि बढ्दा दोबाटोमा पुगेर दोधारे अवस्थामा अल्झेको मानिसले विचार केन्द्रको सहायताले सही बाटो ठम्याउन सक्छ
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एउटा बालक प्रथमपटक जब यस धरतीमा आफ्ना पाइला राख्छ, त्यस पलदेखि नै सुरु भइसकेको हुन्छ उसले जीवनको अन्त्यतर्फ लम्काउनुपर्ने चाल। एकनाशले जब ऊ रुन थाल्छ, उसका वरिपरिका सबै मानिस भने बडो हर्षका साथ मुस्कुराउँदै उसलाई स्वागत गरिराखेका हुन्छन्। उसका साना कानले सुनेका अनेक ध्वनि पछ्याउँदै जब ऊ आफ्नो जिब्रो कष्टपूर्वक फट्कार्दै ता ता, ते ते जस्ता आवाज उच्चारण गर्न सफल हुन्छ तबदेखि नै उसले यस धरतीमा गर्नुपर्ने अस्तित्वको संघर्षमा एउटा बलियो उपस्थिति जनाइसकेको हुन्छ। सुरु भइसकेको हुन्छ उसले जीवनमा पार गर्नुपर्ने घुम्ती, गल्छी अनि खोलानाला। सायद यही भएर होला, कैयन् स्रष्टा अनि द्रष्टाले जीवनलाई संघर्षको उपमा दिएको।

जीवन छ नै त्यस्तै। अनेक छन् यसका आयाम र रङहरू। ती अनेक आयामलाई एकै लयमा बगाउनु छ फाँटमा बगिरहेको नदी झैं, एउटा सुन्दर गीत झैं। त्यसैले त जीवनको आफ्नै नियम छ अनि गति पनि। जीवनको यो गति यति महत्वपूर्ण हुन्छ कि मानिसले नचाहेर पनि यो गतिभित्रै बग्नुपर्छ। गतिशीलता नै यसको आफ्नो धर्म हो। फलस्वरूप समय चक्रसँगै बदलिँदै जान्छ मानिसको रूप अनि आकार पनि।

एउटा बच्चालाई देखेर जोकोही मोहित हुन पुग्छ त्यस बच्चाको रूपकै कारण। यौवनकालमा प्रवेश गर्दै गरेका युवा र युवती एकअर्कालाई हेरेर मोहित हुन पुग्छन् उनीहरूको रूपकै कारण। तर दश ठाउँमा मुजा परेका अनुहार अनि डिलभित्रै पर हराउन लागेका आँखा भएका वृद्धलाई देखेर को मोहित होला ? एउटा बच्चाको थोते दाँतको मुस्कानमा सुन्दरता देखेर ‘कति क्युट’ भन्ने हामी त्यस्तै दाँत नभएका एक वृद्धको मुस्कानलाई ‘कति क्युट’ भन्न सकौंला ? तर जीवनको गतिशीलताको नियमले त हामी सबैलाई भोलि त्यहीं पुर्‍याउने हैन र ?
मेरा एक चित्रकार मित्र लक्ष्मण श्रेष्ठ चियागफमा सधैं भन्ने गर्छन्– यो सारा ब्रह्माण्ड नै रङमय छ भनेर। यही ब्रह्माण्डको एक हिस्सा पृथ्वी अनि यो पृथ्वीको एउटा हिस्सा हामी मानिस पनि त रङमय नै छौं नि। विभिन्न रङहरूको संयोजनविना एउटा जीवन कसरी पूर्ण जीवन बन्न सक्ला र ? वृद्धपनबिना यौवनको के अर्थ होला र ?

तर आज हाम्रो समाज यस्तो बन्दै गइरहेको छ कि यहाँ केवल यौवनकालको मात्र महत्व देखिन्छ। समाजका हरेक क्षेत्रमा उनीहरूलाई मात्र समावेश गर्ने कोसिस गरिन्छ। डाँडापारिको घामलाई कसैले हेर्न चाहँदैन। उनीहरूको भावनालाई कसैले बुझ्न चाहँदैन। अस्ताउन लागेको सूर्यको पनि आफ्नै महत्व हुन्छ भन्नेमा कसैले विश्वास गर्दैन। पलपलमा अपहेलित छन् वृद्ध आफ्नै समाजबाट; आफ्नै घरबाट अनि आफ्नै आफन्तबाट। जसलाई हिजो उनीहरूले आफ्नो सर्वस्व दिन चाहन्थे आफू खाली भएर पनि; जिताउन चाहन्थे आफू हारेरै भए पनि, आज तिनै सन्तानले वृद्धलाई फेरि खाली बनाउँदैछन् सर्वस्वहरण गरेर, घरवारविहीन बनाएर। वृद्धहरू कोही सडक, कोही मन्दिर त कोही वृद्धाश्रममा आफ्नो बूढुयौली जीवन कटाउन बाध्य छन्। सडकमा हिँड्ने बटुवा, मन्दिरमा पुग्ने भक्त अनि वृद्धाश्रममा पुग्ने मनमा एक किसिमको आशाका भावले हेरिरहेका देखिन्छन् वृद्ध। आँखाका डिलभित्रै हराउन लागिसकेका आँखा रसाइरहेका देखिन्छन् सदा साहारा खोज्दाखोज्दा थकित भएर। बच्चा र वृद्ध एकै हुन्छन्, रोइदिहाल्छन् किनकि उनीहरूसँग प्रतीरक्षा गर्ने बल र बैंस हुँदैन।

के हाम्रो समाजमा वृद्धाश्रमको आवश्यकता नै नपर्ने बनाउन सकिँदैन ? के वृद्धलाई सडक र मन्दिरमा नभएर घरमै सम्मानित जीवन जिउने अवस्था सृजना गर्न सकिँदैन ? सकिन्छ, अवश्य सकिन्छ। यसका लागि हामीले ससाना कुरामा ध्यान पुर्‍याउन आवश्यक छ। यसरी ससाना कुरालाई जोड्न सकियो भने भोलि यसले ठूलो सकारात्मक परिमाण अवश्य दिनेछ।
सर्वप्रथमतः प्रत्येक घरघरमा आजका छोरीलाई सुसंस्कारी बनाऔं, भोलिको समाज स्वतः सुसंस्कारी बन्नेछ। आजका छोरी नै भोलिका आमा हुन्। अनि ती आमाले जन्माउने हरेक सन्तानको पहिलो विद्यालय उनीहरू स्वयं नै हन्। सन्तानले पनि प्रत्यक्ष–परोक्ष रूपमा आमाबाटै शिक्षा र संस्कार प्राप्त गर्न सुरु गर्छ। त्यसै गरेर आजका छोरालाई पनि सुसंस्कारी बनाऔं। यिनै छोराहरू भोलिका बाबु अनि परिवारको एक मार्गनिर्देशक पनि हुन्।

एउटा बच्चा दिनमा करिब सातदेखि आठ घन्टा विद्यालयमा रहन्छ। विद्यालयको वातावरण अनि त्यहाँ अध्ययन गराइने पाठ्यक्रमबाटै विस्तारै उसले जीवन र जगत्प्रतिको एक किसिमको दृष्टिकोण विकास गर्दै लगेको हुन्छ। परिवार, समाज अनि राष्ट्रप्रतिको कर्तव्यका साथै जिम्मेवारी बोध गराउनमा विद्यालयको पनि धेरै ठूलो भूमिका रहन्छ। त्यसैले उसले अध्ययन गर्ने माध्यमिक तहसम्मका पाठ्यक्रममा हामीले मुख्यतः तीन विधा, नैतिकता, राष्ट्रियता अनि अध्यात्मलाई व्यवस्थित रूपमा समावेश गर्न अति आवश्यक छ। यसरी आजको शैक्षिक पाठ्यक्रम अनि घरमा सुसंस्कार मिसाउन सकेमा हाम्रो समाजमा भोलि कुनै पनि वृद्ध/वृद्धाले बेसहारा हुनुपर्ने छैन, घरवारविहीन हुनुपर्ने छैन।

के हाम्रो समाजमा वृद्धाश्रमको आवश्यकता नै नपर्ने बनाउन सकिँदैन ? के वृद्धलाई सडक र मन्दिरमा नभएर घरमै सम्मानित जीवन जिउने अवस्था सृजना गर्न सकिँदैन ?

एक युवाको विवाह हुने भएछ। विवाहको तयारी धुमधामले गरियो। बेहुलाका पक्षबाट जन्त जानका लागि निम्तो पनि सबै बाँडियो। त्यस युवाको गाउँमा जन्त लाने सबालमा भने एउटा अचम्मको चलन रहेछ। त्यो के भने जन्तमा वृद्धहरू नलगी केवल युवायुवतीलाई मात्र लैजाने। तर बेहुलाका हजुुरबुबालाई भने नातिको विवाहमा जन्त जाने धोको रहेछ। हजुरबुबाको त्यस धोको पूरा गर्न नाति र हजुरबुबा मिलेर एउटा योजना बनाएछन्। योजनाअनुसार हजुरबुबालाई बोराभित्र लुकाएर जन्तीको गाडीमा हालियो। यो कुराको पत्तो कसैले पाएनन्। गाडी अगाडि बढ्यो। केही घन्टापश्चात् जन्ती बेहुलीको घरनजिक रहेको खोलावारि रोकियो। वैवाहिक परम्पराअनुसार जन्ती पक्षका दुईचारजना भातखौरेका रूपमा बेहुलीको घर पुगे। तर त्यहाँ बेहुलीका तर्फबाट केही वृद्धले भातखौरेसमक्ष एउटा प्रस्ताव राखे। उक्त प्रस्ताव पूरा गर्न नसकेमा बेहुली नै लान नपाइने निर्णय बेहुली पक्षको थियो। प्रस्तावमा उनीहरूले बेहुलीको घरनजिक रहेको खोलामा पानीको सट्टामा दूधैदूध बगाउनुपर्ने कुरा सुनाए। यो सुनेर बेहुला पक्षबाट गएको भातखौरे समूह अक्क न बक्क पर्‍यो। प्रस्ताव स्वीकार्न नसकी निराश भएर बाँकी जन्ती भए ठाउँमै फर्किए। बेहुली पक्षको यो प्रस्ताव सुनेर जन्ती टोलीले अब विवाह नहुने भयो भन्ने निष्कर्ष निकाली फर्कने निर्णय गर्‍यो।

यसैबीचमा बेहुलालाई भने लुकाएर ल्याएको आफ्ना हजुरबुबालाई एकपटक सोध्ने विचार आयो। त्यसैले उसले कसैले थाहा नपाई बोराछेउमा गएर बेहुलीतर्फको प्रस्ताव हजुरबुबालाई सुनायो। प्रस्ताव सुनेर हजुरबुबा हाँस्दै मलाई बोराबाट निकाल त्यसको सम्पूर्ण उपाय मसँग छ भने। यो सुनेपछि बेहुला दंग पर्दै सबै जन्तीलाई हजुरबुबाका बारेमा सुनायो। त्यसपछि सबै जन्तीको सहमतिमा हजुरबुबालाई बोराबाट निकालियो र हजुरबुबाकै सल्लाहअनुसार भातखौरे समूह बेहुली पक्षको प्रस्तावको उत्तर बोकेर पुनः बेहुलीको घर पुग्यो र भन्यो, ‘ल ठीक छ, हामीलाई प्रस्ताव मञ्जुर छ। हामी यो खोलाभरि पानीको सट्टा दूध बगाउन तयार छौं। तर त्यसका लागि तपाईंहरूले पहिला यो खोलाको सम्पूर्ण पानी खाली गरिदिनुपर्छ।’

यो सुनेर बेहुली पक्षका वृद्धाले अचम्म पर्दै भने, ‘यो उपाय त तपाईं युवाहरूको हुँदै होइन। यो त परिपक्क वृद्धको हो।’ यो सुनेपछि बेहुला पक्षले पनि वृद्धहरूको महत्व बुझी हजुरबुबालाई बेहुली पक्षसँग परिचय गरायो। यस कथामा भनिएजस्तै जसले तीन खुट्टा भएको मानिस अर्थात् लौरो टेक्ने उमेरका वृद्धको कुरा सुन्छ त्यसले जीवनमा कहिल्यै पनि दुःख पाउनु पर्दैन। एउटा भवन त्यतिबेला घरमा परिणत हुन्छ जतिबेला वृद्धको सम्मान हुन्छ।

तर औद्योगीकरण, सहरीकरण र विश्वव्यापीकरण बढेसँगै हाम्रा पूर्वीय दर्शन र सभ्यता ओझेल पर्दै गएको देखिन्छ। हाम्रा पूर्वजले सिकाएका सद्विचार, जीवनशैली अनि जीवनोपयोगी संस्कारतर्फ आजको पुस्ताको आकर्षण देखिँदैन। विदेशी जीवनशैली, खानपान र संस्कृतिको देखासिकीले उनीहरूलाई आफ्नो मूल जरा बिर्साउँदै लगेको छ। यसकारणले संयुक्त परिवार टुक्रिएर सानो परिवारमा परिणत हुने क्रम बढ्दो छ। अनि त्यसरी नै वृद्धहरू एक्लो अनि बेसाहारा हुने क्रम पनि। हाम्रो समाज यसरी नै अघि बढ्ने हो भने भोलिका दिनमा यहाँ जति संख्यामा वृद्धाश्रम स्थापना गरे पनि त्यो कम नै हुनेछ। वृद्धाश्रम कहिल्यै पनि पूर्ण समाधान हुन सक्दैन। समाधान त हामीले अघि चर्चा गरे झैं शिक्षा र घरमा संस्कार जोड्नु हो ता कि वृद्धाश्रमको आवश्यकता नै नपरोस्।

वास्तवमा वृद्धहरू शारीरिक रूपमा मात्र कमजोर हुन्छन्। बाँकी त, वृद्धहरू ती हुन्, जसले जीवनलाई अनेक कोण र आयामबाट बाँचिसक्यो। जीवनरूपी यात्रामा आउने कैयन् सगरमाथा चढिसक्यो, खोलानाला तरिसक्यो। चाहे जेठको टन्टलापुर घाम होस् या साउनको बर्खे झरी उसको यात्रा कहिल्यै रोकिएन। दुःख र सुख दुवैलाई नजिकबाट भोगिसक्यो। यसर्थ हाम्रो यो हैसियत कहिल्यै हुँदैन कि वृद्धलाई हामीले आश्रय दिन सकूँ। बरु हामीले नै उनीहरूबाट आश्रय र संरक्षण लिनुपर्ने हुन्छ।

समाज विकास क्रमसँगै आर्थिक जटिलता पनि बढ्दै गइरहेका छन्। आजको दिनमा परिवारमा एकजनाको कमाइले सिंगो परिवार टिक्न गाह्रो पर्न थालिसक्यो। यही कारणले धेरै परिवारमा अवसर पाएसम्म सबैले आआफ्नो क्षमताअनुसारको कार्यमा संलग्न हुने चलन बढ्दो छ। यस परिस्थितिमा वृद्धहरूले बिहान–बेलुका परिवारको सामीप्य पाए पनि दिनभर भने एक्लो हुने गरेका छन्। उनीहरूसँग समय बिताउने त कुरै छाडौं, एकछिन बोल्ने फुर्सदसमेत कसैलाई छैन। त्यसैले अब प्रत्येक गाउँ–टोलमा यस्तो एउटा केन्द्र बनाऔं, जहाँ दिनभर वृद्ध भेला हुन सकून्, आफ्नो सुखदुःख साट्न सकून्। भजन गाउने इच्छा हुनेले भजन गाउन सकून्, नाच्न इच्छा हुनेले नाच्न सकून्, गफ गर्न इच्छा हुनेले गफ गर्न सकून्। प्रसिद्ध आइरिस कवि विलियम बट्लर इट्सको कविता ‘द लेमेन्टेसन अफ द वोल्ड पेन्सनर’ को वृद्ध पात्रजस्तो एक्लै रूखमुनि बसेर बिलौना गर्न नपरोस् यहाँका वृद्धले। उनीहरूको प्रत्येक दिन रमाइलो गरेर बितोस्।
वृद्धहरूको यो केन्द्र एउटा महत्वपूर्ण विचार केन्द्र बन्न सक्छ। समाजलाई सही दिशातर्फ डोर्‍याउने मार्गनिर्देशक बन्न सक्छ। देशको हरेक क्षेत्रका नेतृत्व वर्ग र नीतिनिर्मातालाई सही सल्लाह र सुझाव प्रदान गर्न सक्ने अनुभव केन्द्र बन्न सक्छ। जीवनको बिसौं, पच्चीसौं वर्ष विभिन्न संगठनमा बिताएर अवकाशप्राप्त वृद्धसमेत भेला हुने सो केन्द्रले ती संगठनलाई पनि परिपक्क नेतृत्व दिन सक्छ। जीवनमा अघि बढ्ने क्रममा दोबाटोमा पुगेर दोधारे अवस्थामा अल्झेको एउटा मानिसले यस विचार केन्द्रको सहायताले सजिलै सही बाटो ठम्याउन सक्छ।

परीक्षामा अनुत्तीर्ण हुँदा जीवनमा अब कहिल्यै पढ्न सक्दिनँ भनेर हतोत्साही बनेको एउटा विद्यार्थी यो त कुनै समस्या नै रहेनछ भनेर उच्च रूपमा उत्प्रेरित हुन सक्छ यस विचार केन्द्रबाट। व्यापार डुबेर जीवन नै अन्धकार देखिरहेको एक व्यापारी जीवन त उज्यालै उज्यालोले पो भरिएको रहेछ भन्दै फर्कने छ यो विचार केन्द्रबाट। यसरी समाजका हरेक क्षेत्र, तह र तप्काका मानिसले वृद्धहरूको यो विचार केन्द्रबाट मार्गनिर्देशन, सल्लाह र सुझाव पाउन सक्छन्। अनि वृद्धले पनि एउटा सम्मानित र प्रेमपूर्ण जीवन बिताउन पाउनेछन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।