त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो सुन बरामद


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब चार किलो सुन बरामद गरेको छ।

बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका तीन जना महिला र एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलमा भन्सार जाँच पास भइसकेपछि प्रहरीले उज्बेकिस्तानका तीन जना महिलालाई निगरानीमा राखेको थियो।

शंकास्पद लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एसएसपी शेखर खनालका अनुसार पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजा थिइन्।

चेकजाँचका क्रममा उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएको खुल्यो। उनीहरूबाट तीन किलो ७४५ ग्राम सुन बरामद भएको हो। 

उक्त सुन ल्याउन लगाउने व्यक्ति उज्बेकिस्तानका ४१ वर्षीय तुरसुनोभ सारदोर रहेको बताएका थिए। त्यसपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरू सबैलाई अनुसन्धानका लागि भन्सार कार्यालय सिनामंगलमा बुझाइसकेको  जानकारी दिए। 

 

‘पक्राउ गरेपछि हामीले थप अनुसन्धानका लागि भन्सारमा बुझाइसकेका छौं। उनीहरू कहाँ जाँदै थिए भन्ने थप अनुसन्धानबाट थाहा होला,’ उनले भने।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।