समाज सेवा गर्न उमेरले रोक्दैन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 उमेरले उनी ८६ वर्ष पुगे। जेनतेन पुराना साथीभाइहरू चिनिरहेका छन्। शरीर अलिक कमजोर भए नि समाज सेवा गर्ने जोस भने अझै घटेको छैन, कर्णबहादुर राईको। खोटाङको सदरमुकाम दिक्तेल गाविसका तत्कालीन अध्यक्ष हुन कर्णबहादुर। बेलायती सेनाको सुविधा सम्पन्न जागिर छाडेर गाउँ फर्किएका उनी राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै लागि रहे। पञ्चायतकालमा २०३८ सालमा दिक्तेल गाउँ पञ्चायतको अध्यक्षमा निर्वाचित भएका कर्णबहादुर बहुदलीय व्यवस्था आएपछि पनि २०४९ को स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए। तिनै ८६ वर्षीय कर्णबहादुर र उनकी धर्मपत्नी ८० वर्षीय भगवती राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित कालिका एकता वडास्तरीय महिला समूहले निवासमा नै गएर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको थियो। राई दम्पतीलाई समूहका अध्यक्ष गीता बस्नेत, सचिव सावित्रा आचार्यसहित सय जना महिलाहरूले फूलमाला लगाएर सम्मान गरे। महिला समूहका दिदीबहिनीहरूको हौसला पाएका राई दम्पतीले सबैलाई आशीर्वाद दिए। गाउँमा दिदी बहिनीहरू सुत्केरी भएका बेला भाले, अन्डा, चामल लगायतका पोषणयुक्त खानेकुरा वितरण र धर्म संस्कृतिको जगेर्नामा सक्रिय रहेको महिला समूहलाई पनि राई दम्पतीले संस्थाको उन्नतिका लागि भन्दै ५१ हजार रुपैयाँ नगद गरे। कर्णबहादुरले भगवान महादेवका श्रीमती सतिदेवि र पार्वतीको कथा सुनाउँदै महिलाहरूले नै समाज सुधारमा महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै निरन्तर सामाजिक काममा लाग्न अनुरोध गरे। बेलायती सेनाको जागिर छाडेर राजनीतिमा लागेका कर्णबहादुरलाई बेलायत सरकारले च्यारिटि प्यान्सन दिएपछि उनी श्रीमतीसहित बेलायतमै बस्दै आएका छन्। बेलायत सरकारले ८० कटेपछि कर्णबहादुरलाइ पूरा प्यान्सन दिन थालेपछि केही रकम बचत गरी सामाजिक काममा सहयोग गर्ने गरेको बताए। उनले अब एकपटक बेलायत गएर छिट्टै नेपाल फर्किएर गाउँमा नै बस्ने बताए। उनले आफ्ना पालामा जनप्रतिनिधि हुँदा बिना सुविधा जनताको काममा लाग्ने गरेको स्मरण गर्दै गणतन्त्र आएपछि जनप्रतिनिधिलाई धेरै सेवा सुविधा दिए पनि जनताको चाहना अनुरूप काम नभएको देख्दा आफूलाई चिन्ता लागेको बताए। एमाले खोटाङका नेता राम दंगाल र कांग्रेस नेता सुमन आचार्यले वृद्ध अवस्थामा पनि कर्णबहादुरको समाज सेवालाई प्रशंसा गरेका छन्। 

 

 

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।