सिन्धुपाल्चोकमा; बलात्कार पछि बालिकाले भनिदिने डरले वीभत्स हत्या


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वर्षकी बालिकाको अनुहारमा ढुंगाले हिर्काएको चोट थियो। चोट भए पनि बालिकाको अनुहार चिन्न सकिने अवस्था रहेकाले तुरून्तै सनाखत भएको थियो।

बालिका करिब ४/५ सय मिटर टाढा कोलगाउँको एक घरमा बस्थिन्। प्रहरीलाई बालिकाको शव फेला परेको खबरपछि सुरूमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट टोली खटियो।

प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या समेतको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।काठमाडौंबाट तालिम प्राप्त कुकुर पनि झिकाएर प्रहरीले अनुसन्धान सुरू गर्‍यो।

प्रहरीले घटनास्थलको मुचुल्का गरेर शवको पोष्टमर्टम गर्न काठमाडौंको टिचिङ अस्पतालमा पठाएको थियो।

शव र घटनास्थलको प्रकृति अनुसार बालिकाको बलात्कारपछि हत्या भएको हो भन्नेमा एसपी कार्कीसहित अनुसन्धान अधिकृतहरूको बुझाइ थियो।  

घटनास्थलमा कुकुरले पछ्याउँदा केही व्यक्तिहरूमाथि संकेत गरेको थियो।

‘कुकुरले केहीलाई संकेत गरेको थियो। त्यसपछि अनुसन्धान गर्दा पनि सुरूमा तीन जनामाथि शंका थियो,’ एसपी कार्कीले भने।

केही दिनअघि तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ परेका तीन जनासँग सोधपुछ गरेपछि अन्य दुई जना पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

पाँच जनाले ती बालिकालाई सामूहिक बलात्कार गरेर पछि हत्या गरेको उनीहरूले बयानमा खुलाए।

प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।

यसमा निमा भन्ने व्यक्ति ती बालिकाको आफन्त पनि पर्छन्। उनीहरू एकै गाउँका भएकाले स्वाभाविक रूपमै चिनजान पनि थियो।

शव असार ११ गते फेला परेको भए पनि उनीहरूले बलात्कार गर्ने योजना भने असार ९ गतेदेखि नै बनाएको एसपी कार्कीले बनाए।

‘उनीहरूले योजना नै बनाएर बलात्कार गरेको देखिन्छ। अघिल्लो दिन नै उनीहरूले स्वास्थ्य चौकीबाट कन्डम लिएर गएका रहेछन्,’ उनले भने।

घटना भने असार १० गते राति साढे १० बजेतिर भएको थियो।

साँझपख भएपछि बालिकालाई बोलाएर निमाले ‘टिकटक चलाउन’ भनेर आफ्नो मोबाइल फोन दिएर पठाए।

बालिका गएपछि उनीहरू नजिकैको मकैबारीमा बसेर मापसे गर्न सुरू गरेको प्रहरीले जनाएको छ।

निमाको फोनमा सम्पर्क गरी बालिकालाई बोलाएको देखिएको छ।

‘मोबाइल लिएर आउनू भनेर फोन गरे। त्यसपछि बालिकालाई नै चुरोट किन्न पनि पठाएको छ,’ एसपी कार्कीले भने, ‘बालिका आएपछि पाँचै जनाले चुरोट खाएर मापसे गरेका हुन्।’

त्यसपछि बालिकामाथि उनीहरूले पालैपिलो बलात्कार गरेका थिए।

बालिका बेहोस भएपछि भने उनीहरूले डरले घाँटी थिचेर हत्याको प्रयास गरेको एसपी कार्कीले बताए।

घाँटी थिचेर पनि नमरेको हुनसक्ने भएपछि केही पर लगेर उनीहरूले भीरबाट खसाउँदा पनि रूखमा अड्कियो।

अन्तिममा उनीहरूले त्यहाँबाट पनि अन्त लगेर ढुंगाले हिर्काएर बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।

‘बलात्कारपछि बालिकाले भनिदिन्छन् भनेर हत्या गरेको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

पक्राउ परेका पाँचै जनाको घरमा पनि प्रहरी पुगेको थियो। घरबाट केही प्रमाण पनि फेला परेको प्रहरीले जनाएको छ।

घटनामा पाँचै जना पक्राउ परेपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेको हो। यसबारे थप अनुसन्धान सुरू भइसकेको एसपी कार्कीले बताए।

जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाइसकेको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।