गाउँलेको अत्याधिक बसाइँसराई भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीहरुलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका शहरहरुमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण शिविर सञ्चालन गरेको हो ।
उनीहरुले कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरहरुमा शिविरि सञ्चालन गरेको जनाएका छन् । ‘काठमाडौँमा यही साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर संचालन गरेर सामाजिक सुरक्षा भत्ता नविकरण गरे, जसबाट २५० जनाले सेवा लिए, ‘चितवनमा यही बिहीबार र शुक्रबार शिविर संचालन भैरहेको छ । चितवनको धुम्ती शिविरबाट कम्तीमा पनि ३०० जनाले सेवा लिने हाम्रो अनुमान छ ।’ पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका ११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नविकरण शिविर संचालन गरेको प्रमुख प्रशासकियले बताए ।
गाउँपालिकाका अधिकांश बृद्धबृद्धा औषधी उपचारका लागि काठमाडौँ तथा चितवन जस्ता शहरहरुमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए । उनका अनुसार पालिकाले शहरमै पुगेर यसरी घुम्ती शिविर संचालन गरेको यो पहिलो पटक हो ।
‘बृद्धबृद्धाहरु गाउँमामा आउनुपर्दा उहाँहरुलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियर सहित आउनुपर्ने अवस्था छ । हाम्रो अधिकांश पालिकाबासी काठमाडौँ र चितवनमा बसोबास गर्नुुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर संचालन गरेका हौँ’ भने । शिविरमा एकजना एमआईएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधिहरु खटिएका उनको भनाई छ ।
सिरानचोक गाउँपालिकाका अधिकांश बृद्धबृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न थएका छन् । कतिपय भने औषधी उपचारका ती सहरहरुमा बस्दै आएको उनले बताए । उनीहरु गाउँमा आउनु भन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नविकरण गराउन उतै गएको र पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर संचालन गरेको यो पहिलो पटक हो । गाउँपालिकाको ४८ सय जना नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेकोमा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।
सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर संचालन गरेको छ । पालिकाले यही साउनको अन्तिम साता काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि शिविर चलाएको पालिकाले जनाएको छ ।
बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको त्यहाँको प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए । जसबाट ४२५ जनाले सेवा लिएका उनले जानकारी दिए ।
उनका अनुसार चितवनमा भएको शिविरमा १२९ जना पालिकाबासीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । यस्तै, काठमाडौं बसोबास गर्ने २९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छन् । नवीकरण गराउनेमा २४१ महिला र १८४ जना पुरुष रहेका छन् । गाउँपालिकाले अन्य जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक दलित भत्ता, जेष्ठ नागरिक एकल महिला, पूर्ण अपाङ्गता भत्ता, अति अशक्त अपाङ्गता भत्ता, दलित बालबालिका गरी सात वटा लक्षित समूहको सामाजिक सुरक्षा भत्ता नवीकरण गराएको जनाएको छ ।
गाउँपालिकाका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए । तीन हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय जना गोरखा बजारमा, १ हजार जना जति चितवन र १५ सय जना जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइँसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर संचालन गरी सामाजिक सुरक्षा भत्ताको कागजात नविकरण गरेको छ । पालिकाले साउनको पहिलो हप्तामा उक्त शिविर संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताए । वडा सचिवहरु खटिएर शहरमा नविकरण घुम्ती शिविर संचालन गरिसकेपछि अहिले वडाहरुमा नविकरणको काम सुरु गरेको उनले जानकारी दिए । अधिकांश पालिकाबासी काठमाडौँ र जिल्ला सदरमुकाममा बस्ने भएकाले सहरबाटै सामाजिक सुरक्षा भत्ता नविकरणको काम सुरु गरेको छ ।
विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौको १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर संचालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए । शिविरबाट ६०० जनाले सेवा लिने पालिकाको अनुमान छ ।
अजिरकोट गाउँपालिकाले पनि चितवन र काठमाडौँमा घुम्ती शिविर संचालन गरेको थियो । पालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर संचालन गरेको थियो । जसबाट २३५ जनाले सेवा लिएका छन् ।
हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नविकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरुको भनाइ छ ।