सामाजिक सुरक्षा तथा बालपोषण भत्ता नपाउँदा जेष्ठ नागरिक आक्रोशित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 रौतहटको गुजरा नगरपालिकास्थित सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैंकले सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणमा लामो समयदेखि लापरवाही गर्दै आएको भन्दै लाभग्राही आक्रोशित भएका छन्। भत्ता वितरण नगरेको विरोधमा आईतबार जेष्ठ नागरिकहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिकाका अनुसार हाल गुजरा नगरपालिकामा ३,३०० जना जेष्ठ नागरिक र ५,४०० जना बालपोषण भत्ता पाउने लाभग्राही रहेका छन्। गत असार ११ गते, नगरपालिका प्रशासनले जेष्ठ नागरिक भत्ताका लागि ५ करोड रुपैयाँ र बालपोषण भत्ताका लागि ९४ लाख रुपैयाँ एनआईसी एशिया बैंकमा जम्मा गरिसकेको भए पनि बैंकले अहिलेसम्म पनि रकम वितरण गरेको छैन। बैंकमा कर्मचारीको अभाव देखाउँदै रकम वितरण रोकेको बैंक प्रशासनको भनाइ छ। बैंकका म्यानेजर सदेउ प्रवेजले तालिका प्रकाशनमा ढिलाइ भएकाले वितरणमा समस्या आएको बताए। तर स्थानीय लाभग्राहीहरू यो स्पष्टीकरणप्रति असन्तुष्ट छन्। प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले भने लाभग्राहीलाई समयमै भत्ता प्राप्त होस् भनेर नगरपालिका बेलैमा रकम बैंकमा पठाउने गरेको स्पष्ट पारे। तर वितरणमा ढिलाइ हुँदा लाभग्राहीहरू दैनिक बैंक धाउनुपर्ने बाध्यतामा परेका छन्। स्थानीयको आरोप छ कि बैंकले लाभग्राहीको रकम होल्ड गरेर व्यवसायीक लगानीमा प्रयोग गर्ने गरेको पुरानै प्रवृत्ति दोहोरिएको छ। यसले गर्दा राज्यबाट प्राप्त सुविधा पनि समयमै नपाउँदा जेष्ठ नागरिकहरू मानसिक र आर्थिक तनावमा परेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।