राष्ट्रिय परिचयपत्रले वृद्धवृद्धा ,असाहाय र अशक्तलाई दियो सास्ती


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फेरी फेरी बृद्धवृद्धा, असाहाय अशक्तलाई सास्ती भएको छ । परिचयपत्र बिना भत्ता कार्ड नवीकरण नभएपछि गाउँठाउँबाट सर्वसाधारण जिल्ला प्रशासन धाउन बाध्य भएका छन् ।

अहिले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेहरुको घुँइचो लागेको छ । बर्खाको प्रवाह नगरी उनीहरु परिचयपत्र बनाउन सदरमुकाम आइपुगेका छन् ‘अब राष्ट्रिय परिचयपत्र नभए भत्ता दिदैन् रे त्यसैले वर्खा भन्न पनि पाइएन,’ सिरानचोक–३ का सोमनाथ घिमिरेले भने,‘सकिनसकी आएर फोटो खिचाइयो ।’

आइतबार झण्डै १५० वटा राष्ट्रिय परिचयपत्र बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ती मध्ये अधिकाशं वृद्धवृद्धा र अशक्तहरु रहेका छन । ‘अहिले राष्ट्रिय परिचयपत्रमा भिडभाड नै छ,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पालिकाहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेका छन् । त्यसैले होला बुढा बा आमाहरु धेरै आउनु भएको छ ।’ यस अघि पनि सरकारले राष्ट्रिय परिचयपत्रमा कडाई गरेपछि अदालतले अनिवार्य नगर्न निर्देशन दिएको थियो । त्यसपछि सामाजिक सुरक्षा भत्ता लिनेलाई केही खुकुलो गरिएको थियो । तर अहिले भत्ता कार्ड नवीकरण नहुने भएपछि फेरी समस्या भएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले वृद्धवृद्धा, अशक्त र गाउँठाउँका सर्वसाधारणलाई सजिलो होस् भन्ने उदेश्यले पालिकामै गएर बायोम्याट्रिक समेत गराइरहेको दाबी गरेको छ । ‘अहिले गोरखामा राष्ट्रिय परिचय पत्रको चार वटा स्टेशन छन् । एउटा स्टेशनले पालिका (पालिकामा पुगेर घुम्ती शिविर गरिरहेको छ,’ भने, ‘तीन वटाले यहाँ धमाधम काम गरिरहेका छन् । हामीले अहिले आएका सर्वसाधरणलाई उही दिनमा काम सकेर पठाउने गरेका छौं । परिचयपत्र नबन्दा बास बस्नु पर्ने अबस्था छैन ।’

अहिलेसम्म चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा, गण्डकी गाउँपालिकामा शिविर सञ्चालन भइसकेको बताए । अबको केही दिनमा अजिरकोट त्यसपछि बारपाक सुलिकोट र पालुङटारमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको  बताए ।

यता आम सर्वसाधारणले भने एकैदिन परिचयपत्र बनाउन नसकिएको गुनासो गरेका छन् । दिनभर बस्दा पनि काम नभएको उनीहरुको भनाई छ । ‘आज टोकन सकियो भोली आउनुहोस् भनेर पठाइदिनु भयो,’ प्रशासन परिसरमा फेला परेकी एक वृद्धाले भनिन्,‘ घर गएर भोलि आउन पनि गाडी छुटिसक्यो । बस्न पनि म बुढी मान्छे कहाँ गरेर बस्ने ?’

बायोम्याट्रिक गर्न पालिकाहरु गाउँ देखि शहरसम्म

नयाँ आर्थिक वर्ष सुरु भएसँगै स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सुरु गरेका छन् ।
जिल्लाका अधिकाशं स्थानीय तहले सामाजिक सुरक्षा भत्ता लिने आफ्ना लाभग्राहीको खोजी सुरु गरेका छन् ।

सोही अनुरुप टोली पठाएर गाउँ देखि शहर सम्म कार्ड नवीकरण गरिरहेका छन् । अहिले सम्म बारपाक सुलिकोट, आरुघाट, अजिरकोट, चुमनुब्री गाउँपालिका लगायतका स्थानीय तहले सामाजिक सञ्जालमा सार्वजानिक सूचना जारी गर्दै काठमाण्डौं, चितवन र गोरखा बजारमा बायोम्याट्रिक शिविर सञ्चालन गर्ने घोषणा गरेका छन् । अन्य पालिकाहरुले पनि सोही अनुरुप गर्ने तयारी गरिरहेको छन् ।

धार्चे गाउँपालिकाले गोरखा नगरपालिका–६ रहेको केरौंजा नयाँ बस्तीमा रहेका सर्वसाधारणको बायोम्याटिूक गरेको छ । धार्चे–२ स्थानीय भूकम्प पछिको पहिरोले बिस्तापित भएपछि गोरखा सदरमुकाममा बस्दै आएका छन् ।

  •  
  •  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।