प्रविधिमय बन्दै जाँदा परम्परा र संस्कृति हराउँदै जाने पो हो कि ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली समाज पनि परिवर्तनको संघारमा छ। हरेक चाडपर्वमा विस्तारै परिवर्तनका संकेतहरू देखिँदै छन्। नेपालीको पहिचान भनेकै चाडपर्व हुन्। तर, चाडपर्व मनाउने क्रम अचेल त्यसको मर्म नबुझी देखावटी पाराले मनाउने प्रवृत्ति बढेको छ।वास्तवमै हामी नेपाली कलासंस्कृति र चाडपर्वमा निकै धनी छौं। यति हुँदाहँुदै पनि आधुनिकताको लहरमा हाम्रा चाडपर्वहरू पनि बिस्तारै रंगिँदै छन्। कतिपय चाडपर्वमा त निकै विकृति भित्रिरहेका छन्।मातातीर्थ औंसी एक विशेष पर्वको रूपमा नेपाली समाजमा मनाइन्छ। ‘आमा’ शब्दले नै अपार माया प्रेम बोकेको हुन्छ। आमा भन्नाले जन्मदाता र धरती वा मातृभूमिलाई बुझिन्छ। हाम्रो जीवनमा यी दुवैको महत्वपूर्ण भूमिका हुन्छ। यस्ता पर्वले आफ्नासँग सम्बन्धको गाँठो अझै कसियो बनाउँदै लान्छ। आपसी भेटघाट र कुराकानीले मानिसमा सकारात्मकताको विकास गर्छ। समयअनुसार हाम्रो जीवनशैलीमा पनि परिवर्तनहरू आएका छन्। पहिले पहिले छोराछोरीले आमाबुबाबाट टाढा हुँदा भावना साट्न र आमाबुबालाई हेर्न पाउँदैनथे। प्रविधिका कारण अचेल सजिलै सात समुद्र पार भएकासँग पनि अनुहार हेरेरै कुराकानी गर्न पाइन्छ। दुःखसुख साट्न पाएका छौं। आफन्तको खबर, हालचाल बुझ्न पाएका छौं।नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा विभिन्न समयमा यो पर्व मनाउने गरिन्छ। विश्वका प्रायः धेरै देशमा मदर्स डे, फादर्स डे, सिब्लिङ्स डे, ग्रान्डप्यारेन्टस् डे इत्यादि उत्साहजनक ढंगले मनाइन्छ। यसरी नेपालमा मात्र नभई विभिन्न मुलुकमा पनि यो पर्व मनाइँदै आएको छ। जुनसुकै जाति, भाषाभाषी भए पनि यस्ता चाडपर्वले मानवीय आस्था बोकेको हुन्छ। समाजलाई सुमधुर सम्बन्धमा बाँधेर राख्न चाडपर्वले मद्दत गर्दै आएको छ। मानिस सामाजिक प्राणी हो। ऊ समाजमै रमाउँछ। उसका आवश्यकता पनि समाजबाटै पूरा हुन्छन्।आवश्यकता पूरा गर्न मानिसले आफूलाई मिल्दो धर्म, संस्कृति र चाडपर्वको रचना गरे। व्यवहारमा लागू गरे अनि पछिल्लो पुस्तामा सामाजिकीकरणको प्रक्रियामार्फत त्यही परम्परा नै सामाजिक नीतिनियम बन्न पुग्यो। अघिल्लो पुस्ताले हरेक चाडपर्वको मर्म बुझेर चाडपर्व मनाउँथे तर समाज परिवर्तनसँगै चाडपर्व मनाउने प्रवृत्तिमा पनि परिवर्तन आएको छ। हाल आएर देखावटी र तडकभडकका साथै चाडपर्व मनाउने प्रवृत्ति नेपाली समाजमा पनि बढ्दो छ। यसले हामो पहिचान र अस्तित्वलाई नै धरापमा पार्न सक्छ। धर्म, संस्कृति, चाडपर्व रहेमात्र हामी नेपाली हौं भनी गर्व गर्न सक्छौं।त्यसैले आफ्नो परम्परा रीतिथितिअनुसार तडकभडक नगरी मातातीर्थ औंसी पर्व मनाऔं। मातासँगै पितालाई पनि सधैं माया, हेरविचार र सम्मान गरौं। जन्म दिने आमाबुबा भगवान्भन्दा ठुला र सम्माननीय हुनुहुन्छ। त्यसैले सदैव माया र आदर गर्नुपर्छ। आमाबुवाले सधैं सन्तानलाई उपहार दिइरहनुभएको हुन्छ, आशीर्वाद। जसका कारण कसैले नचाहे पनि हामी सफल भइरहेका हुन्छौं। हामीले हाम्रो परम्परा र संस्कृति जोगाउन आजै र आफैंबाट पहल गर्नु जरुरी छ।वास्तवमै सञ्चार र प्रविधिको विकासले मानव जीवनमा निकै परिवर्तन ल्याइदिएको छ। आफ्ना भावनाहरू सहजै रूपमा व्यक्त गर्ने वातावरण प्रविधिले तयार पारिदिएको छ। आज पनि आमाको मुख हेर्ने दिनको अवसरमा बिहानैदेखि फेसबुक, इस्टाग्राम, रिल, स्टोरीहरूमा विभिन्न गीतका धुनसँगै आमाको फोटो राखेर जन्मदिने आमालाई शुभकामना दिइरहेको देखिन्छ। बुबाआमासँगै गुरुहरूको पनि सधैं सम्मान गर्नु जरुरी छ। त्यसैले पनि हाम्रा यी पर्वहरू पनि यसरी नै सिर्जना गरिएका होलान्।ज्येष्ठ नागरिकका कुरालाई जोड्न चाहेँ। उमेर पुगेका आमाबुबाहरू छोराछोरीसँग समय बिताउन चाहन्छन् तर कतिपय सन्तानले त्यो अपेक्षा बुझ्दैनन्। विदेश लगे पनि उतैको जीवनशैलीमा आमाबुबा घुलमिल हुन सक्दैन। त्यसैले नचाहँदा नचाहँदै पनि उनीहरू सन्तानबाट टाढा बस्न बाध्य छन्। बुढेसकाल लाग्दै गर्दा अरूले आफ्ना कुरा कम सुने पनि यी प्रविधिका माध्यमबाट उनीहरू इच्छा अनुसारका कुराहरू छानीछानी हेर्न र सुन्न सक्छन्। यसैले उनीहरूमा सकारात्मक सोचको विकास हुनेगर्छ। आफू केही गर्न नसक्ने अवस्थामा रहे पनि, विदेशमा रहेका सन्तानको फोटो र भिडियो हेर्दा पनि बाँच्ने रहर बढेको उनीहरू सुनाउँछन्।हाम्रा चाडपर्व प्रविधिमय बन्दै जाँदा संस्कृतिविद्हरू आफ्नोपन हराउँदै जाने पो हो कि ? चिन्तित पनि देखिन्छन्। सबैले प्रयोग गरेका प्रविधि प्रयोग नगरी बस्न पनि सकिँदैन। यस्ता प्रविधिहरूलाई सही किसिमले प्रयोग गर्नुचाहिँ उपयुक्त हो जस्तो लाग्छ।नेपाली समाज प्रविधिमा निकै लामो खुट्किलोतिर लाग्दै गयो। प्रविधिलाई हामीले सहीरूपमा आफ्ना लागि उपयोग गर्नुपर्छ। त्यसो भएमात्र यसले हामीलाई फाइदा गर्नेछ। सञ्चार प्रविधिकै कारण धेरै मानिसलाई खुसी हुने अवसर मिलेको छ। हाम्रा चाडपर्वलाई पनि समयअनुसार सरल र सहज किसिमले मनाउनुपर्छ। ( धर्म, संस्कृति, चाडपर्व रहेमात्र हामी नेपाली हौं भनी गर्व गर्न सक्छौं )

 

 

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।