किन जान्छन् यति धेरै नेपाली विद्यार्थी कलिंग इन्स्टिच्युटमा पढ्न?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डाक्टर अच्युत सामन्त चार वर्षका छँदा उनको बुवाको निधन भयो। त्यसबेला ओडिसाको कटक एकदमै पिछडिएको ठाउँ थियो, अहिले पनि कटक त्यति विकसित ठाउँ भने होइन।

सिमान्तकृत परिवारमा जन्मेका समान्तको जिन्दगी बुवाको निधनपछि सजिलैसँग चल्न सकेन। उनका बारेमा रिपोर्टिङ गरेका भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई पढाउन उनकी आमाले कुनै कसर बाँकी राखिनन्।

उनले पनि स्कुल जुटाउन बिहान बेलुका तरकारी बेच्न हिँडे। आमालाई भरथेग गरे। आमाकै संघर्ष र शिक्षाका लागि दिएको प्रेरणालाई समेटेर अच्युत सामन्तले ‘माई मदर, माई हिरो’ नामक किताब नै प्रकाशित गरेका छन्।

उनले शिक्षामा लगानी गर्नुमा आमाकै भूमिका रहेको बताउँदै आएका छन्। आफूजस्तै सिमान्तकृतका परिवारका छोराछोरी शिक्षाको पहुँचबाट टाढा नहोऊन् भनेर नै डाक्टर अच्युत सामन्तले शिक्षाका क्षेत्रमा काम गर्दै आएका छन्।

त्यसैको परिणाम हो- कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)।

सन् १९९२ मा उनले पाँच हजार भारतीय रूपैयाँमा किट कलेजको स्थापना गरेका थिए। त्यसवर्ष जम्मा १२ जना छात्राहरू कलेजमा भर्ना भएका थिए। ३३ वर्षको अवधिमा किटमा अहिले करिब ३० हजार विद्यार्थी पढ्छन्।

विटेक पहिलो वर्षदेखि पिएचडीसम्म नेपालका मात्रै १४ सय बढी विद्यार्थी अहिले कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छन्।

विद्यार्थीहरूलाई यस कलेजमा पठाउन समन्वय गर्दै आएको एडमिज एजुकेसनकी सम्झना पोखरेलका अनुसार भारतका अरू विश्वविद्यालयहरूको तुलनामा यो विश्वविद्यालय सस्तो भएकाले नेपाली विद्यार्थीहरूको आकर्षण पछिल्लो समय त्यस युनिभर्सिटीमा बढ्दै आएको छ।

‘यो विश्वविद्यालय आर्थिक रूपमा विपन्न तथा सिमान्तकृतका लागि छात्रवृत्तिको पनि व्यवस्था गर्छ। ५० देखि ६० जना विद्यार्थी बर्सेनि छात्रवृत्तिमै पढ्न जान्छन्,’ पोखरेलले सेतोपाटीसँग भनिन्, ‘अध्ययनरत विद्यार्थीहरूले कलेजबारे राम्रो फिडब्याक दिएपछि र बेंगलुरू, चेन्नई लगायतका युनिभर्सिटीहरूभन्दा यो युनिभर्सिटी सस्तो भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो।’

पोखरेलका अनुसार अरू युनिभर्सिटीहरूले विटेकका लागि करिब २० लाख आइसी शुल्क लिने गरेता पनि किटले १२ लाख आइसीमै विद्यार्थीहरूलाई पढाउँदै आएको थियो। यसमा होस्टलको चार्जसमेत जोडिएको छ।

शैक्षिक सत्र २०२५ देखि भने यो युनिभर्सिटीले पनि शुल्क बढाएर विटेकको फि १७ लाख आइसी पुर्‍याएको छ।

‘हामीले १२ वर्षदेखि यो युनिभर्सिटीमा विद्यार्थी पठाउन थालेका हौं। यहाँ शैक्षिक गुणस्तर र प्रशासनको व्यवहारबारे कहिल्यै पनि विद्यार्थीहरूले गुनासो गरेका थिएनन्,’ एडमिज एजुकेशनकी पोखरेलले भनिन्,‘कहिलेकाहीँ होस्टलमा साथीहरूसँग कुरा नमिलेको, खाना मीठो नभएको जस्तो गुनासो भने आउँथ्यो।’

उनकाअनुसार यसअघि त्यस्ता गुनासो पनि कलेज प्रशासनले सुन्ने गर्थ्यो। यसपालि भने नेपाली विद्यार्थीमाथि कलेजले ज्यादती गरेपछि आलोचना भइरहेको छ। 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।