पछिल्लो समय बजारमा केराको मूल्य करिब दोब्बर बढेको छ।
गत वर्ष प्रतिदर्जन औसत १५० रूपैयाँमा पाइने केराको थोक मूल्य २२५ रूपैयाँ पुगेको कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँले जानकारी दिए।
'होलसेल मूल्यकै अवस्था यस्तो छ भने खुद्रा मूल्य कस्तो होला?' उनले भने।
हामीले खुद्रा बजारमा हेर्दा एक दर्जन केरा २५० देखि ३०० रूपैयाँसम्म बिक्री भइरहेको पाइयो।
पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध लगाइएकाले मूल्य बढेको बानियाँको भनाइ छ। उनका अनुसार बजारमा वैधानिक रूपले केरा नआए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा भित्रिरहेको छ।
'वैधानिक रूपमा केरा आएका छैनन्। भन्सार छलेर ल्याइएका केरा नै हामीले बेचिरहेका छैनौं,' उनले भने, 'मूल्य भने अनियन्त्रित छ।'
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रोशन अधिकारीका अनुसार असोजदेखि केरा आयातका लागि प्रवेश अनुमति पत्र दिन बन्द गरिएको छ।
'केरामा देखिएको टीआर–४ रोगका कारण असोज २ गतेदेखि नै प्रवेश अनुमति पत्र दिएका छैनौं,' उनले भने।
उनका अनुसार 'बिरूवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४' अनुसार बिरूवा तथा बिरूवाजन्य उपज आयात गर्न केन्द्रबाट अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्छ। चितवनको एक केरा फार्ममा टीआर–४ रोग देखिएपछि यसको स्रोत पहिचान गर्न अनुमति रोकिएको उनले बताए।
'२०८० सालमा कैलाली र नवलपरासीका केरा फार्ममा पनि यो रोग देखिएको थियो, जसलाई नष्ट गरिएको थियो,' उनले भने, '२०८२ मा फेरि देखिएपछि भारतीय केरा आयातमा रोक लगाइएको हो।'
उनका अनुसार यो रोग व्यापक रूपमा फैलियो भने देशभरको केरा बाली पूर्ण रूपमा नष्ट हुन सक्ने जोखिम छ।
केरा उत्पादन गर्न धेरै समय नलाग्ने भएकाले किसानका लागि उत्पादन विस्तार गर्ने अवसर पनि रहेको उनले बताए। तर उच्च जोखिमका कारण तत्काल अनुमति खुला गर्ने अवस्था नरहेको उनको भनाइ छ।
'जैविक सुरक्षाका कारण अहिले अनुमति दिन सक्ने अवस्था छैन। नाकामा भन्सार कार्यालयले पनि कडाइका साथ निगरानी गर्नुपर्छ,' उनले भने, 'कुनै सूचना प्राप्त भए हामी पनि आवश्यक कारबाही गर्छौं।'
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार विशेषगरी काठमाडौंका बजारमा भारतीय केरा देखिन थालेको छ।
'हामीले केरा हेरेर स्वदेशी र आयातित छुट्याउन सक्छौं,' उनले भने, 'काठमाडौंमा करिब ५० प्रतिशत केरा भारतीय छन्, तर अन्य प्रमुख सहरहरूमा स्वदेशी केरा नै बढी बिक्री भइरहेको छ।'
उनले नाकाबाट अवैध रूपमा केरा भित्रिएको भन्दै सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने बताए।
उनका अनुसार नेपालमा वर्षभरि केरा उत्पादन हुन्छ, तर जात अनुसार समय फरक हुन्छ। जिनाइन जातको केरा बाह्रै महिना उत्पादन हुन्छ भने मालभोग वैशाखदेखि भदौसम्म र चिनीचम्पा केरा चैतदेखि जेठसम्म उत्पादन हुन्छ।
नेपालमा वार्षिक करिब ३ लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने करिब ६० हजार मेट्रिक टन भारतीय केरा आयात हुने गरेको छ।
'साउनदेखि कात्तिकसम्म स्वदेशी उत्पादन धेरै हुन्छ र बिक्री हुन गाह्रो पर्छ,' उनले भने, 'मंसिरदेखि फागुनसम्म उत्पादन घट्छ र चिसो मौसमका कारण खपत पनि कम हुन्छ।'
उनका अनुसार हालको अवस्थामा उपभोक्ता सबभन्दा बढी मारमा परेका छन्। किसानले राम्रो मूल्य पाए पनि उपभोक्ताले तिर्नुपर्ने मूल्य अपेक्षाभन्दा धेरै भएको उनले बताए।
'किसानसँग हाम्रो दैनिकजसो छलफल हुन्छ। किसानबाट खरिद मूल्यकै आधारमा उपभोक्ता मूल्य उच्च देखिएको हो,' उनले भने।