नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अबको करिब ४/५ महिनामा काठमाडौँमा शानदार जनप्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा महासचिव भुसालले पेस गरेको कार्ययोजनामा उनले युवा–विद्यार्थी र किसान–मजदुर, उद्योगी गरेर दुई वटा जनप्रदर्शन गर्नु उचित हुने प्रस्ट पारेका छन् ।
यद्यपि परिस्थिति र सम्भाव्यता हेरेर सबैको फरक–फरक वा एउटै प्रदर्शन पनि गर्नु पर्ने हुन सक्ने उनको भनाइ छ ।
पार्टीको महाधिवेशनबाट पारित समाजवादी कार्यक्रमका आधारमा नेपाल निर्माणको १० वर्षे कार्य योजनाको रुपरेखा काठमाडौँको जनप्रदर्शनका दौरान राष्ट्रका सामु पेस हुने भुसालको जिकिर छ । उनले कार्ययोजनामा भनेका छन्, ‘त्यसका लागि राज्यमाथि दबाब दिन अर्को ६ महिनाको आन्दोलनको कार्यक्रम अगाडि सार्छौं ।’
यसप्रकार स्थानीयस्तरबाट आन्दोलनलाई राष्ट्रिय रूप दिइने र राष्ट्रिय मुद्दालाई फेरि स्थानीयस्तरमा पु¥याएर नयाँ राष्ट्रिय आन्दोलनको तयारी गरिने भुसालले कार्ययोजनामा उल्लेख गरेका छन् ।
‘काठमाडौँको जनप्रदर्शनसम्म हामीले सङ्गठनका क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल नगर्न सक्छौँ तर काठमाडौँको जनप्रदर्शनमा राष्ट्रका सामु पेस गरिने नेपाल निर्माणको कार्ययोजनाका पक्षमा जनमत निर्माण गर्न फेरि ६ महिना जनतामा जाने कार्यक्रमका साथ हामी अगाडि बढ्छौँ । त्यस दौरानमा हाम्रो सङ्गठन तीव्र रूपमा फैलिने छ,’ महासचिव भुसालले भनेका छन् ।