पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, यातायात तथा सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजना सार्वजनिक गरेको छ ।
‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित एक कार्यक्रममा आज यहाँ ज्येष्ठ नागरिकमैत्री सेवा विस्तारको घोषणा गरिएको हो ।
त्यस अवसरमा ज्येष्ठ नागरिकहरूले भोग्दै आएका स्वास्थ्य समस्या तथा गुनासा सुन्न स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा ‘१११५’ नम्बरको विशेष हटलाइन सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइयो । उक्त हटलाइनमार्फत ज्येष्ठ नागरिकहरूले जुनसुकै समयमा आफ्ना स्वास्थ्यसम्बन्धी समस्या र गुनासो मन्त्रालयसम्म प्रत्यक्ष रूपमा राख्न सक्ने जनाइएको छ ।
त्यसैगरी एक महिनाभित्रै प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । विशेषगरी पशुपति वृद्धाश्रममा देखिएको एम्बुलेन्स र स्वास्थ्यकर्मीको अभावलाई सम्बोधन गर्दै आवश्यक सेवा र पूर्वाधार सुदृढीकरण गर्ने काम अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले सार्वजनिक यातायातमा थप सहजता प्रदान गर्न सुविधा र छुटको व्यवस्था गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय भइरहेको बताइन् । यसले ज्येष्ठ नागरिकहरूको आवतजावतलाई अझ सरल र सम्मानजनक बनाउने अपेक्षा गरिएको उनले बताइन् ।
मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक, संस्कारका संवाहक र अनुभवका खानी भएको उल्लेख गर्दै उनीहरूको संरक्षण, सम्मान र सहभागिता सुनिश्चित गर्नु राज्य मात्र नभई परिवार, समाज र सबैको साझा दायित्व भएको उल्लेख गरिन् ।
सरकारले विसं २०५१ पुस ११ गते पहिलो पटक ‘वृद्धभत्ता’ घोषणा गरेको दिनको स्मरणमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।