जापानका ज्येष्ठ नागरिकको अवस्था र नेपालले सिक्न सक्ने पक्ष


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जापान संसारका ती केही देशहरुमध्ये एक हो जहाँ ज्येष्ठ नागरिकलाई समाजको मेरुदण्ड मानिन्छ । त्यहाँ उमेरलाई बोझ होइन, अनुभव र ज्ञानको भण्डारका रूपमा लिइन्छ । जापानी समाजले वृद्धत्वलाई सम्मानका दृष्टिले हेर्छ, र त्यसले नै उनीहरूलाई सुखी, आत्मनिर्भर र उपयोगी बनाएको छ ।

जापानमा आजको मितिमा जनसंख्याको लगभग एक तिहाइ हिस्सा ६५ वर्षभन्दा माथिका नागरिक छन् । यो संख्या लगातार बढ्दै गएको छ, तर त्यहाँका नागरिक त्यसलाई समस्या होइन अवसरका रूपमा लिन्छन् । जापानमा ज्येष्ठ नागरिकको जीवनशैली, स्वास्थ्य सेवा, सामाजिक सहभागिता र मानसिक सन्तुलन यति राम्रोसँग व्यवस्थित गरिएको छ कि उनीहरूको उमेर भए पनि आत्मविश्वास युवाहरुभन्दा कम छैन ।

जापानमा ज्येष्ठ नागरिकलाई पहिलो कुरा आत्मनिर्भर बनाउन सिकाइन्छ । सानो उमेरदेखि नै त्यहाँका मानिसहरूलाई अनुशासन, समयको मूल्य, र आत्मविश्वासको शिक्षा दिइन्छ । जसले गर्दा बुढ्यौलीमा पनि उनीहरू आफ्नै जीवनका निर्णय आफैं गर्न सक्षम हुन्छन् । त्यहाँका ज्येष्ठ नागरिक बिहान पार्कमा व्यायाम गर्छन्, बगैंचामा फूल रोप्छन्, नृत्य, चित्रकला र संगीतमा संलग्न रहन्छन् । उनीहरूले आफ्ना जीवनका बाँकी दिनहरू रमाइलो र अर्थपूर्ण बनाउने प्रयास गर्छन् ।

जापानमा ज्येष्ठ नागरिकको हेरचाह केवल परिवारको जिम्मेवारी होइन, राज्य र समाज दुवैको साझा जिम्मेवारी हो । त्यहाँ स्थानीय प्रशासनले आफ्ना क्षेत्रमा रहेका सबै वृद्धहरूको अभिलेख राख्छ । कुनै पनि वृद्ध एक्लो नहोस् भनेर सरकारी कर्मचारी र स्वयंसेवकहरूले नियमितरूपमा घरमै पुगेर भेट गर्छन् । यस्तै, अस्पताल र सामाजिक केन्द्रहरूमा वृद्धका लागि निःशुल्क स्वास्थ्य जाँच र परामर्श सुविधा उपलब्ध हुन्छ ।

त्यहाँ ज्येष्ठ नागरिकका लागि विशेष नर्सिङ होमहरू छन् जसलाई आरामदायी र आत्मसम्मानजनक बनाइएको छ । ती स्थानहरू कुनै ‘बृद्धाश्रम’ जस्ता दुखद होइनन्, बरु साथीभाइ भेटिने, कला र सिर्जनामा रमाउने, जीवनका नयाँ आयाम खोज्ने सुन्दर स्थल हुन् । त्यहाँ वृद्धहरूका बीच गायन, चित्रकला, कथा लेखन, कविता वाचन जस्ता प्रतियोगिता आयोजना गरिन्छ । जसले वृद्धहरूको आत्मबल उच्च राख्छ र उनीहरूमा ‘अझै म बाँच्न सक्छु’ भन्ने भावना बलियो बनाउँछ ।

जापानमा बृद्धहरूको सौन्दर्य प्रतियोगिता पनि आयोजना गरिन्छ । यस प्रतियोगितामा उमेरको हिसाबले होइन, व्यक्तित्व, आत्मविश्वास र जीवनप्रेमको आधारमा मूल्यांकन गरिन्छ । मुस्कान, शिष्टता र आत्मबलको प्रदर्शन यस प्रतियोगिताको केन्द्रबिन्दु हुन्छ । यसले समाजमा सन्देश दिन्छ कि सुन्दरता उमेरमा होइन, सोचमा हुन्छ । यस्तो कार्यक्रमले वृद्धहरूमा आत्मगौरव जगाउँछ र समाजलाई बुढ्यौलीको सम्मान गर्न प्रेरित गर्छ ।

त्यहाँका विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई बृद्धप्रतिको सम्मान सिकाइन्छ । विद्यालयका विद्यार्थीहरूलाई हप्तामा एक दिन नजिकैका वृद्धाश्रममा गएर सहयोग गर्ने कार्यक्रम हुन्छ । कोही विद्यार्थी वृद्धसँग कुराकानी गर्छन्, कोही तिनका लागि गीत गाउँछन्, कोही तिनलाई मोबाइल चलाउन सिकाउँछन् । यस्तो अभ्यासले बालबालिकामा करुणा, सहानुभूति र सामाजिक जिम्मेवारीको भावना विकास गर्छ ।

जापानका वृद्धहरूको अर्को विशेषता भनेको उनीहरूको आत्मअनुशासन र मानसिक शक्ति हो । उनीहरूले आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहन्छन् । खानपान सन्तुलित हुन्छ, उनीहरू प्रसस्त पानी पिउँछन्, हल्का तर पौष्टिक भोजन गर्छन् । धेरैजसो वृद्धहरू औषधिमा होइन, जीवनशैलीमा भरोसा गर्छन् । उनीहरू ध्यान, योग र आत्मसन्तुलनका अभ्यासमा रमाउँछन् ।

जापानमा वृद्ध नागरिकलाई सम्मान गर्न वार्षिक रूपमा ‘वृद्ध सम्मान दिवस’ मनाइन्छ । यो दिन सार्वजनिक बिदा हुन्छ र सबै परिवारले आफ्ना आमाबाबु, हजुरबुबा हजुरआमालाई सम्मान गर्छन् । सरकारका तर्फबाट वृद्धहरूको योगदानका लागि पुरस्कार र सम्मानपत्र प्रदान गरिन्छ । यो केवल समारोह होइन, संस्कृतिको हिस्सा बनेको छ ।

नेपालले जापानबाट धेरै कुरा सिक्न सक्छ । हाम्रो समाजमा पनि बृद्धहरू परिवारका अगुवा, संस्कारका स्रोत र इतिहासका साक्षी हुन् । तर अहिलेको अवस्थामा धेरैजसो बृद्धहरू एक्लिएका छन्, परिवारबाट अलग भएका छन् र भावनात्मक रूपमा कमजोर छन् । हामीले बृद्धको हेरचाहलाई केवल दया होइन, सम्मानको रूपमा लिन सिक्नुपर्छ ।

नेपालमा पनि स्थानीय सरकारहरूले बृद्ध अभिलेख प्रणाली विकास गर्न सक्छन् । जसले प्रत्येक गाउँ वा वडामा कति बृद्ध छन्, उनीहरूको अवस्था कस्तो छ, स्वास्थ्य सेवा कहाँ पुग्दैछ भन्ने स्पष्ट अभिलेख राख्नेछ । त्यसपछि उनीहरूको आवश्यकता अनुसार स्वास्थ्य र सामाजिक सेवा पुर्‍याउन सजिलो हुन्छ ।

जापानमा जस्तै नेपालमा पनि बृद्ध क्लव र सामुदायिक केन्द्रहरू स्थापना गर्न सकिन्छ जहाँ वृद्धहरूले सँगै भेटघाट गर्न, रमाइलो गर्न र अनुभव साट्न सकून् । यस्ता केन्द्रहरूले मानसिक स्वास्थ्यमा ठूलो सुधार ल्याउँछन् । वृद्धहरूलाई समाजको सक्रिय हिस्सा बनाइन्छ भने उनीहरूको जीवनमा आत्मसन्तुष्टि आउँछ ।

नेपालका विद्यालयहरूमा पनि जापानको अभ्यास जस्तै बृद्ध सम्मान दिवस मनाउन सकिन्छ । विद्यार्थीहरूलाई वृद्धाश्रममा लगेर सहयोग गराउने, उनीहरूसँग समय बिताउने अभ्यास सुरु गर्न सकिन्छ । यसले बालबालिकामा नै बृद्धप्रतिको सहानुभूति विकास गराउँछ ।

नेपाल सरकारले बृद्धहरूको आत्मनिर्भरता बढाउन साना उद्यम, सीप तालिम र घरेलु उद्योगमा संलग्न गराउन सक्छ । उमेरले काम रोक्दैन, सोचले रोक्छ भन्ने भावना बृद्धहरूमा जगाउन जरुरी छ । जसले उनीहरूलाई समाजमा सक्रिय रहन सहयोग गर्छ ।

स्वास्थ्यका दृष्टिले पनि जापानको अभ्यास प्रशंसनीय छ । त्यहाँ नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र व्यायामलाई जीवनको अङ्ग बनाइएको छ । नेपालमा पनि बृद्धहरूका लागि हप्तामा एकपटक सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न सकिन्छ । गाउँगाउँमा स्वास्थ्यकर्मीले घरमै पुगेर रक्तचाप, मधुमेह, आँखाको समस्या जाँच गर्न सक्ने व्यवस्था हुनुपर्छ ।

जापानमा वृद्धहरूको मानसिक स्वास्थ्यमा पनि उच्च ध्यान दिइन्छ । उनीहरूलाई जीवनमा नयाँ लक्ष्य दिन खोजिन्छ । नेपालमा पनि बृद्धहरूलाई धर्म, संस्कृति, शिक्षा र सामुदायिक सेवामा संलग्न गराउन सकिन्छ । उदाहरणका रूपमा विद्यालयहरूमा बालबालिकालाई आचार शिक्षा पढाउने, लोककथा सुनाउने, वा संस्कृत भाषा सिकाउने कार्यक्रम बृद्धहरूको माध्यमबाट सञ्चालन गर्न सकिन्छ । यसले बृद्धको आत्मसन्तुष्टि र समाजको सांस्कृतिक निरन्तरता दुवै बढाउँछ ।

जापानले बृद्धलाई सम्मान मात्र होइन, उनीहरूबाट समाजका लागि योगदान लिन सक्ने अवसर पनि दिएको छ । नेपालले पनि यस्तै दृष्टिकोण लिन सके बृद्ध जनसंख्या बोझ होइन, राष्ट्रका मार्गदर्शक बन्न सक्छन् ।

नेपालको संविधानले पनि बृद्धको अधिकार सुनिश्चित गरेको छ । तर अधिकार कागजमा मात्र होइन, व्यवहारमा उतार्नु जरुरी छ । प्रत्येक परिवारले बृद्धलाई घरको सम्मानित सदस्यका रूपमा हेर्न थाल्नुपर्छ । उनीहरूको सल्लाह सुन्ने, समय दिने र सँगै रमाउने संस्कार पुनर्जीवित गर्नुपर्छ ।

जापानको उदाहरणले देखाएको छ कि राज्य, समाज र परिवार एकैसाथ अघि बढे वृद्धहरूको जीवन सुनौलो बन्न सक्छ । नेपालले पनि यही बाटो लिन सके हाम्रा बृद्धहरू न एक्ला हुनेछन्, न असहाय । बरु उनीहरू समाजका प्रेरणास्रोत र सन्तुलनका केन्द्र बन्नेछन् ।

त्यसैले अब नेपालमा आवश्यक छ वृद्ध सम्मान संस्कृतिको पुनरुत्थान । विद्यालयदेखि संसदसम्म, गाउँदेखि सहरसम्म बृद्धको योगदानको कदर गरौं । उनीहरूको हाँसो, अनुभव र आशीर्वाद नै राष्ट्रको वास्तविक सम्पत्ति हो ।

बृद्धको हेरचाह केवल परिवारको होइन, यो सम्पूर्ण समाजको कर्तव्य हो । र त्यो कर्तव्य पूरा गर्ने प्रेरणा जापानले हामीलाई दिइसकेको छ । नेपालले अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।