[मेरा पूज्यनीय पिता विष्णुप्रसाद आचार्यसँगको बातचित, उहाँको अनुभव र सोचाइलाई लेख्यरूप दिँदा बनेको यस आलेखका अधिकांश वाक्य उहाँको मुखबाट निस्केका हुन् । उहाँले ९० वसन्त पार गरिसक्नुभएको छ । यस्तै ऊर्जावान् विचार, बुझाइ र अनुभूतिको झटारो हानेर उहाँ शरीरले साथ दिएसम्म आफू पनि निष्क्रिय रहनुहुन्न र हामीलाई पनि सक्रिय नरहलान् भनी हर्दम खबरदारी गरिरहनुहुन्छ ।]
‘बुढ्यौली’ शब्द सानो छ, तर यसको छायाँ गहिरो छ । यो उमेरको सीमा तोक्ने कुनै घडी होइन, न कुनै अङ्गमा देखिने चाउरीहरूको गणना । बुढ्यौली त्यो बेला सुरु हुन्छ जब आत्माले मुस्कुराउन छोड्छ, जब आँखाले उज्यालोलाई हेर्न डराउँछ र जब मनले ‘म फेरि नयाँ हुँ’ भन्न अस्वीकार गर्छ ।
हामी बुढ्यौलीलाई ६०, ७० वा ८० को सीमामा बाँध्न खोज्छौं । तर सत्य यो हो कि कुनै दिन, कुनै क्षण, हामी भित्रको ऊर्जा, जोश, आशा र प्रेम जब हराउँदै जान्छ- त्यस दिनबाट बुढ्यौलीको पहिलो सास सुरु हुन्छ ।
बुढ्यौलीको लक्षण बारेमा एकाध कुरा यस्ता छन्-
१. चाउरीभन्दा पहिलाको थकान
बुढ्यौली शरीरबाट सुरु हुँदैन, आत्माबाट सुरु हुन्छ । चाउरीले होइन, चेतनाले बुढ्यौलीको सन्देश ल्याउँछ । ३५ वर्षमै कतिपय मानिसहरू थाकिसकेका हुन्छन्- मात्र कर्तव्यका भारीले होइन, अपेक्षाहरूको निरन्तर चोटले ।
एउटी महिला, जो बिहानदेखि बेलुकीसम्म घरभरिका काम गरेर पनि एक मुस्कान देखाउँछिन्, बुढी होइनन् । तर अर्की जो ऐनामा हेर्न डराउँछे, जीवनलाई शृङ्गार होइन, बोझ ठान्छे, ऊ अवश्य थकित छ। र त्यही थकान हो- बुढ्यौलीको पहिलो लक्षण।
२. ऐनामा देखिने अनुहार र मनमा देखिने प्रतिबिम्ब
कसैले तपाईंलाई भने, “तपाईं त अझै जवान देखिनुहुन्छ !” र तपाईं मुस्कुराउनुको साटो लाज मानेर भन्नुहुन्छ- “ए हैन हैन, तपाईं फुर्क्याउँदै हुनुहुन्छ ।”
त्यो नम्रता होइन, त्यो आत्मास्वीकृतिको अभाव हो । बुढ्यौली त्यहीँबाट सुरु हुन्छ जहाँ हामीले आफूलाई प्रेम गर्न छाड्छौं, आफूभित्रको सौन्दर्य देख्न भुल्छौं ।
सौन्दर्य केवल अनुहारमा होइन, दृष्टिमा हुन्छ । तर जब दृष्टि नै कुहिन थाल्छ, जीवनका रङहरू खैरो देखिन थाल्छन्, तब उमेरभन्दा पहिले नै बुढ्यौलीको झल्को आउँछ ।
३. रमाइलोको आवाज जब स्वर जस्तो लाग्छ
बच्चाको हाँसो सुन्दा हर्ष होइन, टाउको दुख्ने अनुभव हुन्छ भने- बुझ्नुपर्छ, हृदयको कम्पन सुस्त हुँदैछ । युवाहरूको जोश झर्को लाग्छ भने- हाम्रो आफ्नै जोश मरेको छ ।
जब गीतहरू स्वर जस्तो लाग्छन्, कविता उड्दैन, कथा रसाउँदैन, अनि हामी भन्छौं- “अब ती कुरा हाम्रा लागि होइन ।” त्यस क्षण आत्मा एक पाइला बुढ्यौलीतिर लम्किन्छ ।
४. आत्माको लौरो
शरीरले लौरो टेकेपछि मात्र होइन, आत्माले मनको लौरो टेक्न थालेपछि बुढ्यौली छिर्छ । त्यो लौरो हो- आलस्य, निराशा, डर र अस्वीकृतिको मिश्रण ।
आत्मा थाकेपछि न घाट पुग्न साहस रहन्छ, न घाट पार गर्न भरोसा । मन एकान्त खोज्न थाल्छ, संवादभन्दा मौनलाई रोज्छ । अनि हामी भन्छौं, “धेरै देखियो, अब चुपचाप बस्न मन लाग्छ ।” त्यो चुपचाप- बुढ्यौलीको सुस्केराजस्तो हुन्छ ।
५. चोटहरूको संगालो
जिन्दगीले चोट दिँदै जान्छ- यस्तो चोट जसको कुनै डाक्टर हुँदैन । कहिले आशाको सपनामा किराले खायो, कहिले प्रेमको फूल ओइलायो, कहिले अपनत्वको बुटी बिझायो । ती चोटहरूले हाम्रो हाँसोको लय बिगार्दिन्छ, आत्मबल च्यात्दिन्छ ।
जब फेरि उठ्न मन लाग्दैन, जब घाउ निको भए पनि चस्स गर्यो भने, जब ‘हिजोको चोट’ आजको दिशालाई धमिलो बनाउँछ- त्यो क्षण बुढ्यौलीले बास बस्छ।
६. आभार बिर्सिने बानी
ईश्वर, जीवन, आफन्त र आफैँप्रति आभार व्यक्त गर्न छाड्नु भनेको जीवनको अन्तिम बत्ती निभाउनु हो । कृतज्ञता त्यो लम्पट हो, जसले अँध्यारो कोठामा पनि उज्यालोको सङ्केत दिन्छ ।
तर जब हामी भन्न थाल्छौं- “के बाँकी छ अब ? के रह्यो अब ?” -त्यसमा निष्कर्ष होइन, पराजयको सुस्केरा लुकेको हुन्छ । अनि त्यो पराजय नै बुढ्यौलीको स्थायी बासस्थान बन्छ ।
७. बुढ्यौली र आत्माजागरणको सम्बन्ध
तर कुरा यत्तिमा टुङ्गिँदैन । यदि बुढ्यौली आत्माको थकान हो भने, त्यसको उपचार पनि आत्माजागरण हो । पुनर्जागरणको चिया पकाउनुहोस्- जुन चिया उमेरको उष्णताले होइन, इच्छाशक्तिको तापले उम्लिन्छ ।
सँधै सम्झनुहोस्, ८५ वर्षको उमेरमा नृत्य गर्ने हिम्मत राख्ने एकजना आत्मा, ४५ को जस्तै जवान हुन सक्छ । आत्मा जवानीको तुलो हो । शरीर त खाली काँचको जार हो- त्यो भरिन्छ कि रित्तिन्छ, आत्माको रसले ।
८. फेरि पनि युवावस्था सम्भव छ
जो मानिस हरेक बिहान ‘के नयाँ गर्न सक्छु’ भनेर उठ्छ, ऊ कहिल्यै बुढो हुँदैन । जुन महिलाले ऐनामा हेरेर ‘म अझै पोटिली र पूर्ण नारी हुँ’ भन्छे, ऊ चाउरीभन्दा परको सुन्दरता हो । जुन पुरुषले आफ्ना नातिनीसँग गट्टी खेल्न सक्छ, ऊ जीवनको बाँसुरी हो । उसले आनन्द लुट्छ ।
बुढ्यौली अनिवार्य होइन, विकल्प हो । र त्यो विकल्प हामी किन र कसरी लिन्छौं, त्यसमा हाम्रो दृष्टिकोणमा निर्भर गर्छ ।
९. बुढ्यौलीको सौन्दर्य
बुढ्यौलीको आफ्नै सौन्दर्य हुन्छ । परिपक्वताका रेखाहरू, अनुभवका चाउरीहरू, सहानुभूतिका डोबहरू, ती सबै मिलेर एउटा गहिरो चित्र बनाउँछन्, जसमा दुःखको रङ पनि रसानुभूतिको ढाँचामा मिसिएको हुन्छ ।
बुढ्यौलीलाई प्रतिरोध होइन, स्वीकारोक्ति चाहिन्छ- तर त्यो आत्माभित्रका किरणहरू निभाएर होइन, ती किरणहरू झन् बल्झाउँदै ।
१०. अन्तिम सन्देश
बुढ्यौली त त्यही बेलामा सुरु हुन्छ, जब तपाईं आफैँसँगै कुरा गर्न छोड्नुहुन्छ । जब तपाईंलाई लाग्छ, “अब के बाँकी छ र ?” तर जीवन सधैं नयाँ पाना लिएर आउँछ । त्यसैले आफूभित्रको बच्चालाई कहिल्यै मर्न नदिनुहोस् ।
११. बुढ्यौलीका अनुहारहरू – प्रतीक र दृश्यहरू
क) लौरो समातेकी हजुरआमा, तर मुटुमा जोसिलो कविता बोकेकी । उनले भनिन्, “जुन दिन मैले सिन्दुर लगाउन छाडेँ, त्यस दिन बुढी भएकी होइन, जुन दिन मैले गीत गुनगुनाउन छाडेँ, त्यो दिन बुढ्यौली बन्न पुगेँ ।”
ख) ७५ वर्षका बाजे, जो प्रत्येक विहान फूल रोप्छन् । उनी भन्छन्, “म मृत्यु कुर्दिन, म त पालिरहेछु नयाँ जीवन- पर्खालभन्दा भित्र।”
ग) ४२ वर्षकी एकल आमा, जसले आफूलाई ‘बाँकी जीवन बोझ’ भन्न थालिन् । घरका ऐना सबै ढाकिन्, त्यो देख्ने डरले होइन, त्यो मन नपर्ने भावले ।
यी अनुहारहरू केवल कथा होइनन्, प्रतीक हुन्- हाम्रो समाजले बुढ्यौलीलाई कसरी भोगिरहेको छ भन्ने सजीव चित्रण ।
१२. जीवन चक्र र बुढ्यौली
जिन्दगी एउटा चक्र हो- नवजातको रुवाइबाट सुरु भएर वृद्धको मौनता पुग्ने ।
तर सोचौं, बालक किन रोइरहेका हुन्छन् ? -कारण थाहा छैन।
बृद्ध किन मौन छन् ? – कारण धेरै हुन्छन् ।
यो मौनता नै बुढ्यौली हो । शब्द थाक्छन्, संवाद अल्झिन्छ, र आत्मा सुस्ताउँछ । तर त्यो सुस्ताइ पनि, एक किसिमको कविता हो- शब्दरहित, लयात्मक अनुभूति ।
१३. आत्मा चिप्लने उमेर : बुढ्यौलीको गहिरो रूप
बुढ्यौली कहिले आउँछ थाहा छैन, तर
जब आत्मा चिप्लिन्छ- मनका भर्याङमा हात अडेस लगाएर उभिन सक्दैन, त्यस बेला आउँछ बुढ्यौली ।
त्यो उमेरमा आँखाले देख्दैनन्, सम्झनाहरूले देखाउँछन् । आकाश हेर्दा तारा देखिँदैन, तर एउटा पुरानो सपना सम्झिन्छ- जहाँ आफू अझै ‘युवा’ भएको । त्यहाँ बुढ्यौली प्रवेश निषेध छ ।
१४. निष्कर्ष
अब अन्त्यमा भन्न सकिन्छ-
“बुढ्यौली त तब आउँछ, जब हामी जीवन बाँच्न होइन, काट्न थाल्छौं ।”
“र त्यसको उपचार ? आत्मालाई फेरि प्रेम गर।”
आखिर, “बुढ्यौली उमेरको होइन, आत्माको थकान हो । र आत्मा त सधैं पुनर्जन्म लिन सक्छ ।”
०००
नन्दलाल आचार्य