बुढाबुढीको जीवन वृद्धभत्तामा निर्भर


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 सात दशक लामो जिन्दगीको यात्रामा धेरै कुरा सिकियो । अझ भन्दा जिन्दगीले सिकायो भनौं न ! जब जिन्दगी बुझिन्छ, जिउन सजिलो हुने रहेछ । तनहुँको ऋषिङ गाउँपालिका–१ गेजामा बसोबास थियो । अहिले गेजाको घर छाडेर ऋषिङ–१ झापुटारमा बस्न आइपुगेको छु । श्रीमती लालकुमारी पनि मेरै उमेरकी छन् । अहिले उनी ७० वर्षकी भइन् । उनी र म २ वर्षदेखि झापुटारमा दुईवटा कोठा भाडामा लिएर बसिरहेका छौं ।

मेरा एक छोरा र एक छोरी छन् । उनीहरू अहिले आ–आफ्नै सुरमा लागिसके । नाति–नातिना र पानाति पनि भइसके । सन्तान सुख भए पनि अहिले बुढाबुढी मात्रै छौं ।

घरमा यताउता डिंगाबस्तु पनि छैनन् । भएको भए पनि सेवाचक्कर गर्न सकिने रहेनछ । खेतीपाती पनि गर्न सकिँदैन । केही सागसब्जी लगाऊँ भने पनि बाढीपहिरोले गरेर खाने जग्गा पनि निमास बनाइदियो, अहिले ढुङ्गामुडा थुप्राएर खोल्साखाल्सा बनाएर राखेको छ । तैपनि, यो उमेरमा सक्रिय भएर घरबारीको काम गर्न पनि सकिँदैन ।

हातखुट्टा नचल्ने भएपछि पसल गरेर बसेका छौं । दिनभरि पसल रुङेर दुई–चार रुपैयाँ हात पर्छ । समय कटाउने बाटो र बेलाबेला मिठोमसिनो खाने मेसो बनेको छ । बुढाबुढीलाई भात खाना सरकारले दिएको भत्ताले जसोतसो पुग्छ ।

हाम्रो भत्ता हरेक तीन/तीन महिनामा २४ हजार रुपैयाँ आउँछ । जसोतसो त्यही भत्ताको पैसाले घरखर्च पुर्‍याउने कोसिस गरिरहेका छौं । पसलबाट त्यस्तो आम्दानी हुँदैन । त्यही हो– कहिलेकाहीँ भत्ता ढिलो आउँदा पसलबाट आम्दानी भएको धेरथोर पैसाले बुढाबुढीको छाक टार्ने काम भएको छ ।

कहिलेकाहीँ दिनमा त्यही ४/५ सय रुपैयाँको आम्दानी हुन्छ । अलि ठाउँमा पसल राख्न सकेको भए आम्दानी पनि राम्रो हुन्थ्यो होला । तर त्यस्तो खट्टिएर गर्न सक्ने उमेर पनि छैन । दिनभरिको कमाइ सँगालो ४/५ दिनमा के समान सकिन्छ, त्यही ल्यायो । यसैमा ठिक्क छ । पसलबाट आम्दानी भएर जोगाएर राखौंला भन्ने छैन ।

अब जोगाउन पनि कसका लागि जोगाउने ! छोराछोरी सबै आ–आफ्नै सुरमा छन् । भारी बोकेर छोराछोरी हुर्काएँ, अहिले उनीहरू पनि कर्म गरेर आ–आफ्नै छोराछोरीलाई हुर्काउनतिर लागेका छन् । यस्तै रहेछ संसारको रित, कसैसँग केही गुनासो छैन । दुःख बिमार पर्दा कहिलेकाही छोरीले हेर्दिन्छे, नभए हामी बुढाबुढी जसोतसो बाँचिरहेका छौं ।

यहाँ दुई कोठा लिएर बसेका छौं । महिनाको २ हजार रुपैयाँ तिर्छौं । महिनामा खर्च धेरै तर आम्दानी छैन । पैसो आउने बाटो भनेकै सरकारले उपलब्ध गराएको वृद्धभत्तामात्रै हो । यो पनि नभएको भए बाँच्न बडो मुस्किल हुने रहेछ ।

कहिलेकसो पाहुनापासा लाग्छन् । जहाँ बुढाबुढी छन्, त्यहीँ लाग्छन् आफ्नो इस्टमित्रहरू । माउ दुब्लो छ भनेर पाडाले दुध खान छोड्दो रहेनछ । भेटघाटका लागि आउँछन्, चाडपर्वमा आउँछन्, खर्च भइराख्छ । यहाँ आफ्नो बारी छैन, तरकारीदेखि नुन, भुटुन, चामल, मरमसला, खाना पकाउने ग्यास सबै किन्ने हो । पानी र बत्तीको पनि मासिक ५ सय रुपैयाँको हाराहारी तिर्नुपर्छ ।

दुई जना बुढाबुढीमात्रै भए पनि खर्च धेरै छ । कहिले त भत्ताको पैसाले पनि पुग्दैन । यसो मिठोमसिनो खान मन लाग्दा, पाहुन लाग्दा पसलबाट भएको कमाइले पनि साथ दिएको छ । अरु दिनहरू त सामान्य नै बितिरहेका हुन्छन् तर चाडपर्वमा खर्च धान्न भने धौधौ हुन्छ ।

  ( जे गरे पनि अन्तिममा एकअर्काको सहारा बुढाबुढी नै हुने रहिछ । कहिलेकाहीँ आफ्नो जिन्दगी देखेर उराठ लाग्छ तर फेरि संसार यही त हो भनेर चित्त बुझाउँछु )  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।