आश्रममा वजेट नहुँदा दाताहरुको भर पर्नुपरेको


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पवित्र तिर्थस्थल देवघाट धाममा धेरै बृद्धाश्रमहरु रहेका छन् । जहाँ जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरु बस्ने गरेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन –माता तिर्थ औसी) र कुशेऔसी अर्थात बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने बृद्ध बा र आमा परिवारका सदस्य सम्झेर वा परिवार नहुने को आउँछ भनेर बाटो कुरेर बस्ने गरेका छन् ।

 

आज बाबुको मुख हेर्ने दिन अर्थात कुशेऔसी यहाँ रहेका आश्रमहरुमा बस्ने बा हरुको छोरा छोरी र आउने कोही दाताको पर्खाईमा रहेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रममा रहेका बाहरुको अबस्था अझै दयानीय वन्ने गरेको छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ बर्षिय कृष्ण प्रसाद भट्ट आफन्त भए पनि चार्डपर्बमा नसम्झदा मन अमिलो भएर आउने गरेको बताउनुहुन्छ । औसीको दिन भएका दुई भाई छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उहाँले बताउनुभयो ।

श्रीमतीको निधन पछि छोराहरुलाई आफ्नो खुट्टामा उभिने वनाएर छाडेका भट्ट छोराहरुको सम्झनामा निकै निरास वन्ने गर्नुहुनछ । उहाँले भन्नुभयो “बृद्धावस्थामा निकै समस्या हुदो रहेछ छोराहरुको साहारा चाहिने समयमा उनीहरुनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।” अहिलेत भगवानको भरोसामा जीवनलाई छाडेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “अहिले त जो सम्झेर आउँछन् तीनै छोरा छोरी हुन् ।” अहिले आश्रममा आएर जस्ले बा भन्छ र मिठो खान दिन्छ तीनै छोरा छोरी हुन जस्तो लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँ बिगत आठ वर्ष देखि यही आश्रममा आश्रय लियर बस्दै आउनुभएको छ ।

दुई पटक सम्म बैबाहीक सम्बन्धमा बाधिएर पनि श्रीमती र छोरा÷छोरी नभए पछि निकै उदास भएर आश्रममा दिन काट्दै आउनु भएको छ भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका ८६ बर्षिय समशेर बहादुर विश्वकर्मा । उहाँको बैबाहीक जीवन सफल हुन नसकेपछि उहाँ आश्रममा आएर बस्न थाल्नुभएको हो । जन्मीएका छोराछोरीहरु नबचे पछि श्रीमतीले पनि उहाँलाई छाडेर गए । एक्लो जीवन बिताउनका लागि आश्रममा आउनु भएका विश्वकर्मा अहिले आश्रममा आउने जती सबैलाई छोराछोरीको रुपमा लिदैं आउनु भएको छ । उहाँले भन्नुभयो “आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रुपमा लिनु पर्ने बाध्यता छ ।” बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरी जस्ता लाग्छ उहाँले सुनाउनु भयो । बा खुवाउने दिन भन्छन आफ्नो त कोही छैन जस्ले दिन्छ त्यही छोराछोरी हुन उहाँले भन्नुभयो ।

बाग्लुङ्बाट आएर आश्रममा समेत देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रममा बस्दै आउनुभएका ७७ बर्षिय मणिरत्न पौडेल अबिबाहीत हुनुहुन्छ । उहाँका भाई र बहीनी बाग्लुङ्मानै हुनुहुन्छ । समाजमा देखेर आँफुलाई बिवहा गर्न मन नलागे पनि बृद्धाअबस्थामा कोही आईदिए हुन्थ्यो भन्ने आभास हुने गरेको उहाँले सुनाउनु भयो । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै जस्ले आफुलाई बा भन्छ त्यसको दुःख जती मलाईनै परोस् भनेर भन्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुयभो “सबै आफ्नै हुन । जस्ले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।”

देवघाट क्षेत्र बिकास समितिको क्षेत्राधिकार भित्र तीन वटा आश्रममा ८० जना बृद्धबृद्धा रहेका छन् । यस्तै यस क्षेत्रमा रहेका कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रीत बृद्धबृद्धाहरुको हरेक वर्ष आउने चार्डपर्ब यस्तै हुने गरेको छ । क्षेत्रबिकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस आश्रममा अहिले ३५ जना बृद्ध बृद्धाहरु रहनुभएको छ । जस मा १७ जना बृद्ध र १८ जना बृद्धा रहेका छन् । उनीहरुको व्यवस्थापनमा दाताहरुको भर पर्नुपरेको उहाँले बताउनुभयो । सुरुवाती समयमा समाजकल्या कार्यालयबाट केही वजेट आए पनि अहिले वजेट नहुँदा भवन मर्मत देखि आश्रीतहरुको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जन्मोत्सब, बैबाहीक उत्सब, पितृकार्य लगाएतमा समयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनु परेको छ ।” सरकारी कुनैपनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नु पर्ने अबस्था आएको उहाँले बताउनुभयो ।

क्षेत्रबिकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीले असाहाय बृद्धबृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि वजेट प्रयाप्त हुन नसकेको बताउनुभयो । दाताहरुको सहयोगमा भएपनि यहाँ रहनुभएका बृद्धबृद्धाको उचित व्यवस्थापन गर्न सकीएको भन्दै उहाँले कुनै कमी कम्जोरी नहोस् भन्ने गरी काम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “समस्याका बिच पनि बृद्धबृद्धाहरुको स्वभाव अनुसार सेवा दिएका छौ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।”

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।