आजका बालबालिका मात्र स–साना, भोला र निर्भर जस्तो देखिए पनि उनीहरू राष्ट्रको भविष्यका कर्णधार हुन भन्ने सत्यलाई हामी कहिल्यै बेवास्ता गर्न सक्दैनौं । कुनैपनि देशको विकास, समृद्धि र प्रगतिको आधार त्यो मुलुकका बालबालिकाले नै राख्नेछन्, जसरी किसानले उब्जाउन लागेको बालीको संरक्षण गर्छ । यस दृष्टिले हेरियो भने बालबालिकाको शिक्षा, स्वास्थ्य, चरित्र निर्माण र सीप विकासमा लगानी गर्नु कुनै खर्च होइन, बरु राष्ट्रका लागि अमूल्य पूँजीमा निवेश हो । यसमा चुक्नाले भोलिको दिनमा जटिल समस्याहरू निम्त्याउने सम्भावना उच्च हुन्छ । हाम्रो जिम्मेवारी छ कि हामी आजका बालबालिकालाई तिनका आवश्यक अधिकार र अवसरहरू प्रदान गरेर देशको उज्जवल भविष्य सुनिश्चित गरौं ।
बालबालिकालाई शिक्षा, स्वास्थ्य, अनुशासन, नैतिकता र अवसर बिना मात्र देशको भविष्य उज्जवल हुँदैन; यी सबै पक्षहरूलाई समेटेर सम्पूर्ण विकास गरिनुपर्छ । शिक्षा केवल अक्षर चिन्ने वा परीक्षा पास गर्ने मात्र प्रक्रिया होइन, जीवन बुझ्ने, सोच्ने र सिर्जनात्मक क्षमतामा वृद्दि गर्ने माध्यम हो । गुणस्तरीय शिक्षा पाएका बालबालिका केवल काम खोज्ने होइन, नयाँ काम सिर्जना गर्ने, नवीन सोच लिएर अघि बढ्ने सक्षम नागरिक बन्न सक्छन् । इतिहासले पनि प्रमाणित गरेको छ, उदाहरणका लागि दोस्रो विश्वयुद्धपछि को जापानलाई लिन सकिन्छ, जहाँ सम्पूर्ण देश ध्वस्त भएको अवस्थामा पनि बालबालिकामा लगानी गरेर केही दशकभित्रै विश्वको अग्रणी राष्ट्र बन्न सफल भयो । यसले शिक्षा र बालबालिकामा लगानी गर्नु राष्ट्र निर्माणको पहिलो आधारभूत तत्व भएको देखाउँछ ।
यस्तै गरी स्वास्थ्य र पोषण पनि बालबालिकाको सम्पूर्ण विकासका लागि अनिवार्य पक्ष हुन् । शरीर स्वस्थ नभएमस्तिष्कलेपनि पूर्ण रूपमा काम गर्न सक्दैन । कुपोषण, रोग, अस्वच्छता र खेलकुदको अभावले बालबालिकामा मानसिक र शारीरिक कमजोरी ल्याउँछ, जसले गर्दा उनीहरूको भविष्य कमजोर हुन्छ । बालबालिकाले पौष्टिक आहार, स्वच्छ पानी, स्वास्थ्य सेवामा सहज पहुँच र खेलकुदमार्फत शारीरिक र सामाजिक विकासको अवसर पाउनु अत्यन्त आवश्यक छ । खेलकुदमा अनुशासन, टीमवर्क, नेतृत्व क्षमता र सहिष्णुता सिक्न पाइन्छ, जसले राष्ट्र निर्माणमा योगदान दिने व्यक्तित्व विकास गर्छ ।
यसका साथै बालबालिकामा चरित्र निर्माण र नैतिक शिक्षा पनि आवश्यक छ । ज्ञान मात्र पर्याप्त हुँदैन, यदि नैतिकता र सच्चाइको मूल्य छैन भने त्यो ज्ञानले देशलाई प्रगति त दिन सक्दैन, उल्टो संकटमा पुर्याउन सक्छ । बाल्यकालमा रोपिएको चरित्र नै भविष्यमा राष्ट्रको आत्मा बन्नेछ । देशप्रेम, सत्य निष्ठा, ईमानदारी, अनुशासन र सहिष्णुता जस्ता मूल्यहरू बालबालिकामा लगाउनु आवश्यक छ ताकि उनीहरू जिम्मेवार, दयालु र समर्पित नागरिकका रूपमा अघि बढुन् । यस्ता गुणहरू विकास गर्न परिवार र समाजको भूमिका पनि निर्णायक हुन्छ ।
तर आजको युगमा ज्ञान मात्र होइन, सीप र आत्मनिर्भरता पनि अत्यन्त महत्वपूर्ण छ । पुस्तौं पुस्ताले देखाएका जस्तै केवल पुस्तक ज्ञानले मात्र भविष्य उज्जवल हुँदैन । व्यावहारिक जीवनोपयोगी सीपहरू जस्तै कृषि, प्रविधि, व्यवसाय, कला र नेतृत्व क्षमता बालबालिकामा विकास गर्न जरुरी छ । विश्वका प्रगतिशील राष्ट्रहरूले यसलाई बुझेर विद्यालय तहमै व्यावहारिक र व्यवसायिक शिक्षामा जोडदिएका छन् । यसले बालबालिकालाई आत्मनिर्भर बनाउँछ र देशको आर्थिक समृद्धिको लागि बलियो आधार तयार गर्छ । आत्मनिर्भर बालबालिकाबाट मात्र आत्मनिर्भर राष्ट्र जन्मन्छ ।