निःशुल्क आँखा परीक्षण पछी ज्येष्ठ नागरिकमा छायो खुशियाली


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीयस्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पुर्‍याउँदै आएको छ ।’     
     ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविर प्रभावकारी बनेको हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए । उनले भने, ‘शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिने भएकाले शिविरहरु प्रभावकारी छन, यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट वञ्चित नागरिकलाई पनि सहजता दिएको छ ।     
     गाउँघरमै निःशुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा पनि उत्साह देखिएको छ । शल्यक्रियामार्फत आँखा देख्न पाएकोमा वृद्धवृद्धा खुसी भएका थिए ।     

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।