महिला तथा बालहिंसा न्यूनीकरण गर्न चेनतामूलक कार्यक्रम सञ्चालन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 महिला तथा बालहिंसा न्यूनीकरण गर्न यहाँको रामप्रसादराई गाउँपालिकाले कानुनी परामर्श तथा चेनतामूलक कार्यक्रम सञ्चालन गरेको छ । विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहुँच विस्तार गर्न कार्यक्रम गरिएको हो । 

कानुनी परामर्शको मध्यमबाट जनस्तरसम्म चेतना फैलाउने उद्देश्यले महिला जनप्रतिनिधि र विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।     
     गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार कार्यक्रममार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जानकारी दिएको छ । गाउँमा हुने घरेलु हिंसा तथा बालहिंसा न्यूनीकरण गर्ने लक्ष्यले कानुनी परामर्श कार्यक्रम सञ्चालन गरिएको हो । 

तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रमार्फत महिला तथा बालबालिकाका विषयमा संविधानले दिएको अधिकार, कुनै पनि किसिमको हिंसा भए त्यसको कानुनी व्यवस्था, न्याय पाउनका लागि गर्नुपर्ने काम, हिंसा भएमा कानुनले तोकेको सजायलगायत विषयमा जानकारी दिइएको छ । अहिले पनि जनस्तरसम्म कानुनी सेवाका बारेमा कमै मात्र जानकारी छ । गाउँघरमा हुने विभिन्न खालका हिंसा न्यूनीकरणका लागि महिला जनप्रतिनिधि र छात्रालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।     
     
गाउँघरमा अझै पनि कस्तो खालको व्यवहारलाई हिंसा भनिन्छ, हिंसा भएमा कानुनी उपचार कसरी खोज्ने, हिंसा भएमा कहाँ उजुरी गर्ने भन्नेलगायत विषयमा जानकारी नहुँदा कानुन कार्यान्वयनमा समस्या रहेको अध्यक्ष र सो अवसरमा संविधानमा बालबालिका तथा महिलालाई दिएको अधिकारका बारेमा पनि जानकारी दिइएको  जानकारी दिए ।     
     
संविधानमा महिला तथा बालबालिकाका बारेमा व्यवस्था गरिएको अधिकारलाई समुदायस्तरसम्म पुर्याउन गाउँपालिकाको आयोजना तथा सहयोगी महिला समाज काठमाडौंको समन्वयमा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए ।    

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।