ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस मनाइयो


दुव्र्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र कार्यान्वयनको जोड
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारको अन्त्यका लागि जनचेतना जगाउने उद्देश्यले आज जुन १५ तारिख ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस’ नेपालसहित विश्वका विभिन्न देशहरूमा विविध कार्यक्रममार्फत मनाइएको छ।

यस वर्ष २०२५ को लागि संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको नारामा भनिएको छ —
“Addressing Abuse of Older Adults in Long-Term Care Facilities: Through Data and Action”, जसको नेपाली रूपान्तरण “दीर्घकालीन हेरचाह सेवामा रहेका ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र कार्य” भन्ने अर्थमा लिइएको छ।

विश्वमा ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा वृद्धि भइरहेको छ। यद्यपि, उनीहरूप्रति हुने भेदभाव, हेला, अपमान र आर्थिक शोषणका घटना अझै हटेका छैनन्। व्यक्तिगत स्वतन्त्रता, आत्मसम्मान, सम्पत्तिको अधिकार, स्वास्थ्य सुविधा र सामाजिक व्यवहारबाट वञ्चित हुँदा ज्येष्ठ नागरिकहरूको जीवन कष्टकर बनिरहेको छ।

यस समस्यालाई गम्भीरतापूर्वक उठान गर्दै सन् २००६ देखि अन्तर्राष्ट्रिय संस्था The International Network for the Prevention of Elder Abuse (INPEA) ले हरेक वर्ष जुन १५ लाई ‘विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध चेतना दिवस’को रूपमा मनाउँदै आएको छ। सन् २०१२ मा संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता दिएको यस दिवसमा नेपालबाट राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालीन महासचिव तथा हाल का निबर्तमान अध्यक्षले संयुक्त राष्ट्रसंघको मञ्चमा कार्यपत्र प्रस्तुत गरेका थिए।

नेपालमा सन् २००७ देखि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै यो दिवस मनाउँदै आएको छ। सन् २०१२ पछि भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा यो दिवस अझ औपचारिक र सशक्त रूपमा मनाउन थालिएको हो।

नेपालको संविधान, २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरिएको भए तापनि व्यवहारमा अझै पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। यस्ता कानुनी व्यवस्थाहरूलाई समय सापेक्ष सुधार गर्दै दुव्र्यवहारमा संलग्न व्यक्तिलाई कारबाही गर्ने स्पष्ट कानुनी आधार खडा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

विशेषगरी आर्थिक दुव्र्यवहार नै ज्येष्ठ नागरिकले सबैभन्दा धेरै भोग्ने समस्यामध्ये एक हो। त्यसैले, ज्येष्ठ नागरिकको सम्पत्तिमा इच्छापत्रको व्यवस्था गर्नुका साथै सन्तानद्वारा अनिवार्य हेरचाह गरिनुपर्ने प्रावधान कानुन र नियमावलीमा स्पष्ट ढंगले समावेश गरी कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ।

यसै सन्दर्भमा, ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारसम्बन्धी समस्या समाधान गर्न ज्येष्ठ नागरिक हेल्पलाइन सेवा, ज्येष्ठ नागरिक प्रहरी सेलको स्थापना, तथा सामुदायिकस्तरबाट अवस्थाको लगत संकलन र पुनःस्थापनाको व्यवस्था जस्ता कार्यक्रमहरू अपरिहार्य देखिएका छन्।

यसबाहेक, सञ्चार माध्यममार्फत व्यापक जनचेतना फैलाउने कार्य पनि अत्यन्त महत्वपूर्ण छ। पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामुदायिक एफएमहरूबाट विभिन्न भाषामा सचेतनामूलक सन्देशहरू प्रसारण गर्न आवश्यक भएको विज्ञहरूले औंल्याएका छन्।

ज्येष्ठ नागरिकहरूले पनि आफूमाथि हुने सम्भावित दुव्र्यवहार पहिचान गरी कानुनी सल्लाह लिनु, विश्वासिलो आफन्त वा साथीहरूसँग नियमित सम्पर्कमा रहनु, र असजिलो परिस्थितिमा सम्बन्धित निकायमा जानकारी दिनु जरुरी छ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्षका  अनुसार, “राज्यले जतिसुकै कानुनी संरचना तयार गरे पनि जबसम्म पारिवारिक तहमा हेला र उपेक्षा अन्त्य हुँदैन, तबसम्म ज्येष्ठ नागरिकको जीवन पूर्ण रूपमा सम्मानजनक हुन सक्दैन।”

समापनमा,
दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले ज्येष्ठ नागरिकका अनुभव, माया, स्नेह र योगदानको कदर गर्दै समाजका सबै तहबाट उनीहरूलाई सम्मान र सुरक्षाको प्रत्याभूति दिलाउनु नै सबैको कर्तव्य रहेकोमा जोड दिएका थिए।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।