हो, देश बन्दैछ । तर, सजिलै होइन । हामीले केही गुमाएका छौं । तर धेरै सम्भावना अँगालेका छौं । २० वर्षमा पाँचवटा निर्वाचन भए । तीनवटा संविधान चाखिए । २०६२/०६३ पछि नयाँ युग सुरु भयो । पुराना बानी छुटेनन् । घोषणा थुप्रै गरिए । पूरा थोरै भए । नारा रमाइला लगाइए । काम सकसपूर्णै रहे । देशमा ७७ जिल्ला छन् । ७ वटा प्रदेश सरकार । ७ सय ५३ स्थानीय तह । तर, नागरिक सेवा अझै केन्द्रीय राजधानीमै छ । नेपालको अर्थतन्त्र सानो छ । तर सम्भावना ठूलो । लाखौं युवा विदेशमा छन् । तर देशमै रोजगारी छैन भन्न सकिन्न । समस्या नीति र इमानको हो । तर, अर्कातिर हिजो सडक थिएन । आज कालोपत्रे गाउँ पुगेको छ । हिजो रेडियोमात्र थियो । आज हात–हातमा स्मार्टफोन छ । हिजो हातले लेख्थ्यौं । आज एआईबाट लेखिन्छ । यही संक्रमणमा पत्रकारिता उभिएको छ । अन्नपूर्ण पोस्ट् पनि उभिएको छ— २४ वर्षदेखि । पहरेदार बनेर । साक्षी बनेर । कहिले आलोचक, कहिले उत्प्रेरक । हामी देखिरहेका छौं— देश परिवर्तनको लयमा छ । देश बन्दैछ । अर्को पुस्ताको आँखामा बन्दैछ । तिनै छन् हाम्रा आशा । तिनै हुन् ‘देश बन्दैछ’ भन्ने प्रमाण । हामी निराशा बेच्दैनौं । प्रश्न गर्छौं । तर उत्तर पनि खोज्छौं ।देश भन्नु सिमानामात्र होइन, सपना पनि हो । देश भन्नु हो— एकजना हिम्मती किसान, जसले बन्जरमा हरियो सपनाको बिउ रोपेको छ । देश भन्नु हो—दुई हातमा पसिना र मनमा उज्यालो बोकेर बाँचेका सयौं योजना । अनि, देश भन्नु हो— अन्धकारबीच पनि भरोसाको दियो बालेका नागरिकहरू ।त्यसैले, देश नाराले होइन, कामले बन्छ । हामी तिनै कामका साक्षी, संवाददाता र संवाहक बन्ने संकल्प गर्छौं । त्यही कथा देखाउन चाहन्छौं ।
किनभने—
देश बन्दैछ ।