चकलेट : एउटा जीवन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चकलेट,एउटा सानो रंगिन,
त्यहाँ पाउँछ बच्चाले मुस्कान,
जुन आवरण संसार तोड्ने, ज्यान लिने,
स्वादभित्र लुकेको कथा,
मिठो देखिने, तीतो हुने व्यथा।

सानो टुपुक्क परेको हात,
गुडियाजस्तो हुलिया,
जहाँ निष्कलंक आँखाहरू,
लुटियो बाल्यकालको हाँसो,
हरायो खुसी, आशा,
हरायो भोलिको भाषा।

जहाँ भोलि, मन अनि अबोधपन,
विश्वास र भरोसा,
खेल्ने उमेरमै खोसियो जीवन,
आकाश छुने सपना,
टुट्यो मनको चाहना।

सँगै रित्तिएको काख,
सुरक्षा खोजेको समय,
आमाबुबाको माया,
तर फर्किएन पहिलेझैँ बालापन,
थामिएन आँसु, स्पन्दन।

हातदेखि हातमा,
सानो प्रलोभनमा,
मिठासभित्र लुकेको रहस्य,
चकलेटको खोलजस्तै बन्द कथा,
बाहिर मिठास, भित्र व्यथा।

बन्द खोलभित्र लुकेको पीडा,
अबोध बालिकाको लुटिएको अस्मिता,
अन्त्यमा खोसिएको जीवन,
नफर्किने भयो बालपन।

पग्लियो चकलेट, सकियो मिठास,
अब बाँकी स्वाद—तीतोपन,
मनभित्र रह्यो घाउको कम्पन।

मुस्कान गयो, बाँकी मौनता,
विश्वास ढल्यो, बाँकी डर,
चुपचाप बगेका आँसु,
हराएका खुसी,
मनभित्र जमेको पीडाको लहर।

थर्थराएको शरीर,
बरबराएको आवाज,
निद्रा हराएका रात,
सँगै गरेका बात,
जलेको घटना,
अपराधबोधको सामना,
फर्की नआउने भयो बिहान।

फर्की आउँछ कि भन्ने कामना,
तर फर्किएन जीवन,
गुम्यो बालापन, हरायो मुस्कान,
टुट्यो सानो संसार,
अँध्यारो भयो सुन्दर बिहान।

रित्तिएको काख,
चुपचाप बगेका आँसु,
आत्मसम्मानको चोट,
मनभित्र बल्झिरह्यो खोट।

अमिट छाप अनि चोट,
सम्झनामा रह्यो बोझ,
निद्रा हराएका रात,
मनमा बल्झिरह्यो उही खोट।

चकलेटको खोल पुग्यो फोहोरको टोकरीमा,
मिठास सकियो, तीतोपन रह्यो,
मौनता बस्यो, आँसु बग्यो,
बन्द कथा खुलिरह्यो स्मृतिमा,
घाउ बल्झिरह्यो पीडामा।

मिठासको अन्त्यमा तीतोपन,
हासोको अन्त्यमा मौनता,
भरोसाको ठाउँमा डर,
चुपचाप बगेका आँसु,
मनभरि बोकेका अधुरा कुरा।

एउटा चकलेट, एउटा सानो प्रलोभन,
एउटा अबोध जीवन, एउटा बन्द कथा।
मिठासभित्र लुकेको रहस्य,
जसले खोस्यो बालापन, हाँसो र जीवन,
मिठासलाई बनायो तीतो सम्झना
र छोड्यो सधैँका लागि सम्झनाको बोझ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।