दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले ढुंगाले हानेर घाइते पारेर बलात्कार गरेको उजुरी परेपछि दुई युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् । उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
निरीक्षक तथा सूचना अधिकारी सुनारका अनुसार राति तीजको नाँच हेरेर घर फर्किँदै गर्दा गोविन्द र खगेन्द्रले पिछा गरेर बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेछन् । उनले भने, ‘उनीहरुसँगै गएका अन्य साथीहरूले भागेर ज्यान जोगाएर घरपरिवारलाई घटनाबारे भन्न सफल भएका रहेछन् ।’
युवकले प्रहार गरेको ढुंगाले धेरै चोट लागेपछि बालिका भाग्न असफल भएपछि पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दैलेख जनाएको छ । बालिकाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरकेको छ ।