आर्थिक वर्ष २०८२/८३ को वार्षिक सर्वेक्षणले देशभरि सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या बढेर ८ हजार ९ सय ७६ पुगेको देखाएको छ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार भएसँगै मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको सरकारी तथ्यांकले देखाएको छ।
प्रति लाख जीवित जन्ममा हुने मातृ मृत्युदर घटेर १५१ मा झरेको छ भने प्रति हजार जीवित जन्ममा हुने शिशु मृत्युदर २७ कायम रहेको छ।
त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा ३१ रहेको सर्वेक्षणमा छ ।
स्वास्थ्य बीमा कार्यक्रम देशभरका सबै स्थानीय तहमा विस्तार गरिएको उल्लेख छ । २०८२ फागुनसम्म यस कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या २१ लाख ४८ हजारभन्दा बढी पुगेको छ।
सरकारले स्वास्थ्य बीमामार्फत सर्वसाधारणलाई उपचार सेवामा सहज पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ।
औषधि उत्पादन क्षेत्रमा पनि नेपालले प्रगति गरेको देखिएको छ। हालसम्म नेपालमा २२ हजार ३ सय ५ ब्रान्डका औषधि दर्ता भएका छन् ।
तीमध्ये १३ हजार ५ सय ९४ स्वदेशी ब्रान्डका औषधि रहेका छन् ।
विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ३३ हजार ५ सय ८१ जना क्यान्सर, मुटु तथा मृगौला रोगीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । सरकारले दीर्घरोगी तथा विपन्न वर्गलाई लक्षित गरी उपचार सुविधा विस्तार गर्दै आएको जनाएको छ।
खानेपानी क्षेत्रमा पनि पहुँच विस्तार भएको उल्लेख छ ।
आधारभूत खानेपानी सुविधा ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ। तर सुरक्षित खानेपानीको पहुँच भने अझै २९ प्रतिशत जनसङ्ख्यामा मात्र सीमित रहेको तथ्यांकले देखाएको छ ।