बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकविहीन सडकआश्रित मानिस र उपेक्षित ज्येष्ठ नागरिकको संरक्षणका लागि जमिन खरिद गरेर डिपिआरसमेत सम्पन्न गराई ग्राम निर्माणका लागि तीन करोड ५० लाख बजेट विनियोजन भयो । तर, शिलान्यासको आठ वर्ष बितिसक्दा पनि सरकारले ग्राम निर्माण अगाडि बढाएको छैन ।
पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार ग्रामथान गाउँपालिकासमेतको सहकार्यमा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको गुरुयोजना पनि पूर्वमिस नेपाल शृंखला खतिवडाको टिमले नै तयार पारेको थियो । ग्रामभित्र अलग–अलग ७२ वटा घर निर्माण गर्ने गरी डिपीआर तयार गरिएको थियो । तर, राजनीतिक उतारचढावले सरकार परिवर्तन भएसँगै ०७६ मा बहुवर्षे योजनाअन्तर्गत विनियोजन भएको साढे तीन करोड बजेट पनि सामाजिक विकास मन्त्रालयले रकमान्तर गरेर खर्च गरेको थियो ।
उनकाका अनुसार ज्येष्ठ ग्राम निर्माणका लागि प्रदेश सरकार स्थापना भएको ०७४ देखि नै प्रक्रिया सुरु भएको थियो । तर, फेरिएका मन्त्रीहरूले चासो नदिँदा योजना हराउन पुगेको हो । हाल ज्येष्ठ ग्राम निर्माण गर्न प्रदेश सरकारले खरिद गरेको ३२ बिघा जमिन पनि अतिक्रमण भइसकेको छ । ‘पहिलो वर्ष कार्यदलबाट अध्ययन गराएँ, दोस्रो वर्ष जग्गा खरिद गरेर डिपिआर गराएँ । तेस्रो वर्ष बजेट विनियोजन गराएर शिलान्यास पनि गराएँ । तर, मन्त्रीबाट हटेपछि बजेट नै रकमान्तर भयो । त्यसपछि त योजनै हरायो । अहिले प्रदेश सरकारको एक मात्र लालपुर्जा भएका जमिन पनि बेवारिसे भएर अतिक्रमणको चपेटामा परिसकेको छ,’ घिमिरेले भने ।
उनका अनुसार आधुनिक ग्रामभित्र सडकमा भौँतारिने मानसिक रोगी र असाहयलाई संरक्षण गर्ने मानव सेवा आश्रम मानसिक रोगीलाई भर्ना लिएर उपचार गराउन १५ शङ्ढयाको अस्पताल पनि निर्माण गर्ने योजना थियो ।
बजेट विनियोजन गर्न गराउन ज्येष्ठ नागरिक बौद्धिक मञ्चको माग
ज्येष्ठ नागरिकको हकहितका लागि काम गर्दै आएका विराटनगरका बौद्धिक व्यक्तित्वले अलपत्र ज्येष्ठग्राम निर्माणबारे चासो दिएका छन् । अध्ययन प्रतिवेदनअनुसार निर्माण गर्ने भनिएको ग्रामका लागि आगामी वर्ष बजेट विनियोजन गराउन कोशी प्रदेश सरकारसँग आग्रह गरेका छन् । ज्येष्ठ नागरिक अगुवा कृष्णप्रसाद भण्डारीका अनुसार अलपत्र ग्राम निर्माण गराउन ज्येष्ठ नागरिक बौद्धिक मञ्च दबाब समूह गठन भएको छ । मञ्चले आफ्नै लालपुर्जा भएको जमिनमा ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि आर्थिक वर्ष ०८३/८४ को बजेटमा रकम विनियोजन गर्न माग गरेको छ । ‘सरकारले लगानी भइसकेको करोडौँ रकम खेर जान दिनुहुँदैन । आगामी वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन गरेर ज्येष्ठ नागरिक ग्राम निर्माण सुरु गराउनुपर्छ,’ भण्डारीले भने ।
यो समचार हामीले नयाँ पत्रीका बाट साभार गरेका हौँ l