२५ लाख किसान सरकारी प्रणालीमा जोडिए, १६ लाख अझै बाँकी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारको ‘किसान सूचीकरण प्रणाली’मा देशभरिका करिब २५ लाख किसान दर्ता भएका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको जमिन र उत्पादनको विवरणका आधारमा उनीहरूलाई डिजिटल प्रणालीमा समेटेको हो । कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार कृषि जनगणना २०७८ ले देखाएको कुल ४१ लाख ३० हजार किसानमध्ये अब करिब १६ लाख किसान सूचीकृत हुन बाँकी छन् ।

छुटेका किसानलाई प्रणालीमा जोड्ने कार्य भइरहेको केन्द्रको भनाइ छ । मन्त्रालयले सबै किसानलाई सूचीकृत गरिसकेपछि उनीहरूको अवस्थाका आधारमा निर्वाहमुखी, साना, मझौला र ठूला गरी चार वर्गमा किसानलाई विभाजन गर्ने योजना बनाएको छ ।

वर्गीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिनेछ । सोही परिचयपत्रका आधारमा सरकारले दिने रासायनिक मल, बीउ, अनुदान र अन्य प्राविधिक सेवाहरू वितरण गरिनेछ ।

स्थानीय तहसँगको समन्वयमा विवरण संकलन भइरहेको भन्दै केन्द्रले हालसम्म दर्ता नभएका किसानलाई सूचीकृत हुन आग्रह समेत गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।