सांसद डा. तोसिमा कार्कीले जितिन् मुद्दा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।

मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको निर्णयलाई खारेज गरेको  सर्वोच्च अदालतको उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए। 

ललितपुर क्षेत्र नम्बर ३ बाट २०७९ मंसिरमा भएको चुनावमा उम्मेदवार हुँदा कार्कीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो।

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेका कार्कीले पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेज भएको थियो। उक्त पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा पनि प्रश्न उठेको थियो।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन्। उक्त रिटमा सर्वोच्च अदालतका न्‍यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गरेका थिए।

२०७९ कात्तिक २८ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो।

उक्त आदेशपछि निर्वाचन लडेर कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन्।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।