१ फागुन, काठमाडौं। महाशिवरात्रि नजिकिँदै जाँदा तयारी स्वरुप पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर र आसपासका मन्दिरमा रङ्गरोगन र मर्मतसम्भार गरेर चिरिच्याट्ट पारिएको छ ।
पशुपति क्षेत्र परिसरका सम्पदामा पनि रङ्गरोगन गरी महाशिवरात्रिका लागि चिटिक्क बनाइएको छ । मन्दिरमा वेदरकोट प्राइमर लगाइएको छ भने आसपासका पर्खालमा रातो रङ लगाइएको छ ।
महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले एक हप्ता अगाडि (माघ २५गते)देखि विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा वर्ष भरमा मनाइने पर्वमध्ये महाशिवरात्रि महत्वपूर्ण पर्व हो । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।