म छु नि उसको


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म छु नि उसको
म एक सेतो छडी हुँ। मेरो लामो, पातलो र सामान्य देखिने शरीरले एउटा यस्तो मानिसको (जसलाई मैले केवल 'ऊ' भन्न सक्छु) सम्पूर्ण जीवन बोकेको छ, जसले संसारको प्रकाश कहिल्यै देखेन, तर जसको मनभित्रको ज्योतिले हरेक अन्धकारलाई पराजित गर्‍यो। मलाई उठाउने हातहरूको स्पर्शमा एक गहिरो विश्वास छ, जुन अरू कुनै वस्तुले महसुस गर्न सक्दैन। मेरो शरीरमा धातुको शीतलता छ, तर मेरो हृदयको कुना-कुनामा केवल उसको तातोपन र अटुट भरोसा मात्रै भरिएको छ। मेरो अस्तित्व, तिम्रो संसारमा केवल एक सहायक उपकरणको रूपमा परिभाषित गरिएको छ, तर मेरो अनुभवमा, म त एउटा यस्तो साक्षी हुँ, जसले प्रेम र संघर्षको अनौठो गाथा नियालें।
म एउटा छडी मात्र होइनँ, म मेरा साथीहरूको आँखा हुँ, उनीहरूको आत्मविश्वास हुँ, उनीहरूको अडान हुँ। मेरो कथा तब सुरु हुन्छ, जब संसारको उज्यालो उसको लागि सदाको लागि अस्ताउछ। ऊ हरेक बिहान उठ्दा एउटा प्रश्नले घेरिन्थ्यो: (म कसरी हिँड्ने?)
सुरुवातका दिनहरू याद आउँछन्। उसले जब मलाई पहिलो पटक समातेको थियो, त्यो डर, त्यो संकोच! उसको हातको काँप, छातीको ढुकढुकी, र हत्केलाको पसिनाले मलाई बुझायो— ऊ डरमा छ, ऊ एक्लो छ, तर उसभित्र कतै एउटा ज्वालामुखीजस्तो साहस लुकेको छ। बाटोमा ठोक्किँदा, लड्खडाउँदा आउने निराशाको आवाज। मलाई लाग्थ्यो, म उसको बोझ पो बन्दैछु कि! तर होइन, म त उसको नयाँ संसारको ढोका थिएँ।
मेरो टुप्पोले भुइँ छाम्दा निस्किने त्यो सानो 'ट्याक-ट्याक' आवाज, त्यो आवाज डरको होइन, त्यो त स्वतन्त्रताको धुन हो। त्यो 'ट्याक-ट्याक' केवल आवाज होइन, त्यो त उसको आत्मविश्वासको घोषणा थियो— "म आउँदैछु, र मलाई कसैको सहारा चाहिँदैन!" पहिलो पटक उसले मलाई लिएर एक्लै सडक पार गर्दा, मैले महसुस गरें, त्यो सफलता कुनै युद्ध जितेभन्दा कम थिएन। उसको अनुहारमा आएको विजयको मुस्कानले मेरो निर्जीव शरीरलाई पनि जिन्दगी दियो।
सुरुका दिनहरूमा, ऊ मलाई लिएर हिँड्न लजाउँथ्यो। उसलाई लाग्थ्यो, म उसको कमजोरीको सार्वजनिक घोषणा हुँ। उसले मलाई हत्तपत्त बाहिर निकाल्दैनथ्यो। भीडभाड भएको ठाउँमा मलाई लुकाएर हिँड्न खोज्थ्यो, जसले गर्दा पाइला लड्खडाउँथे, ऊ ठोक्किन्थ्यो। म चिच्याएर भन्न चाहन्थें, "म तिम्रो लाज होइन, म त तिम्रो सुरक्षा र साहसको प्रतीक हुँ!" उसको हृदयको त्यो संकोचको बोझ, मैले पनि आफ्नो धातुको शरीरमा महसुस गरें। मलाई लाग्थ्यो, ऊ आफैँलाई र मलाई पनि अस्वीकार गरिरहेको छ।
ऊ मलाई लिएर हिँड्न डराउँथ्यो। सडकमा गाडीहरूको कर्कश आवाज, मानिसहरूको हतार, र पाइला मुनिको असमान जमिन— यी सबै उसका लागि ठूलो त्रास बनेर आउँथे। कति पटक त उसले मलाई समातेर घरको भित्तामा अडेस लगाई, घन्टौँसम्म चुपचाप रुन्थ्यो। उसको निधारबाट बगेका पसिनाका थोपाहरू र आँसुका नुनिला धाराहरू मेरो 'ग्रिप' मा झरिरहन्थे। म मौन थिएँ, बोल्न सक्दिनँ। म केवल आफ्नो सम्पूर्ण शक्तिले उसको हातलाई सहारा दिइरहन्थें— "नडराऊ, म छु, म छु।" त्यो

 रुवाइ, मलाई छुने हावाको वेगभन्दा पनि कमजोर थियो, तर त्यसभित्र वर्षौंको संचित पीडाको तूफान थियो। उसले मलाई समातेर रुँदा मैले बुझें, म उसको लागि केवल एक बाटो देखाउने उपकरण मात्र होइन, म त उसको निजी डायरी हुँ, जहाँ उसले आफ्नो सबैभन्दा कमजोर क्षणहरूलाई कैद गर्छ।
कतिपयले मलाई दयाको नजरले हेर्छन्। मलाई समातेर हिँड्नेलाई सहानुभूति दिन्छन्। तर उनीहरूलाई के थाहा, म सहानुभूति होइन, शक्तिको प्रतीक हुँ। म बिना उसलाई हरेक पाइलामा अर्काको सहारा चाहिन्थ्यो। म हुँदा, उसले आफ्नो बाटो आफैं तय गर्न सक्छ। खाल्डो आयो? मैले खबर दिन्छु। भर्‍याङ आयो? म सङ्केत गर्छु। छेउमा कुनै बाधा आयो? मेरो टुप्पोले 'यता हैन' भनिदिन्छ। म मौन रहेर पनि हजारौं शब्द बोल्छु। म त उसको इन्द्रियहरूको विस्तार हुँ। जब ऊ खुसी हुन्छ, उसको पाइलाको तालमा एउटा फरक ऊर्जा हुन्छ, र म जमिनमा हल्का मात्र ठोकिन्छु। जब ऊ निराश हुन्छ, उसको पाइला घिस्रिन्छ, र उसको हातको पकड यति कमजोर हुन्छ कि म आफैँ डराउँछु, कतै मलाई उसले छोडिदिने त होइन?
जब उसले मलाई समातेर निर्धक्क भीडमा, चिया पसलको गल्लीमा, वा पार्कको घुम्तीमा हिँड्छ, त्यो दृष्य हेर्न लायकको हुन्छ। उसको मुहारमा एक किसिमको आत्मनिर्भरताको चमक देखिन्छ। त्यो चमक मेरो अस्तित्वले दिएको हो भन्दा मलाई गर्वले छाती फुल्छ। उसले मलाई केवल औजारको रूपमा प्रयोग गर्दैन, उसले मलाई आफ्नो अङ्ग मान्छ। रात-दिनको साथी, दुःख-सुखको साक्षी। म उसले नदेख्ने संसारको वर्णन गर्ने शब्दकोश हुँ।
तर, सबै क्षणहरू सुखद मात्र हुँदैनन्। कहिलेकाहीँ मलाई समातेर हिँड्दा पनि मान्छेहरू बेवास्ता गर्छन्। छेउबाट हतारिएर हिँड्नेहरूले मलाई नै कुल्चिदिन्छन्, अनि उसलाई ठेस लगाइदिन्छन्। ऊ अलमलिएको देखेर पनि कसैले सहयोगको हात बढाउँदैनन्। त्यतिबेला मेरो मन रुन्छ। म कराएर भन्न चाहन्छु, "हेर त, म एक संकेत हुँ! मलाई देखेपछि त सहयोग गर!" तर म त बोल्न सक्दिनँ, मात्रै संकेत गर्न सक्छु। ती उदासीनताका पलहरू मेरा लागि सबैभन्दा पीडादायी हुन्छन्। मलाई लाग्छ, मेरो सेतो रङ्गको पनि कुनै मोल भएन। किनकि मानिसहरूले आफ्ना कमजोरी र असफलता लुकाउन हजारौं मुखौटाहरू लगाउँछन्। तर मसँग ऊ कहिल्यै कुनै मुखौटा लगाउँदैन। मसँग ऊ केही पनि लुकाउँदैन, लुकाउन चाहँदैन र लुकाउन चाहेर पनि सक्दैन। म नै उसको सत्य हुँ।
मलाई याद छ, एक साँझ ऊ आफ्नो सपनाको प्रोजेक्टमा असफल भएर फर्किएको थियो। ऊ कोठामा एक्लै बस्यो र मलाई आफ्नो काखमा लियो। उसको टाउको मेरो शरीरमा अड्याएर ऊ भक्कानिएर रोयो। त्यो रुवाइको आवाजले मेरो सम्पूर्ण शरीर हल्लियो। उसले बिस्तारै फुसफुसाउँदै भन्यो— "मलाई थाहा छ, तिमीलाई सबै थाहा छ। तिमीले मात्र मेरो यो हार देखेको छौ, अरू कसैलाई देखाउन म सक्दिनँ। म कमजोर भएको छु, तर तिमीलाई त म भन्न सक्छु, होइन?" त्यो क्षण! उसको त्यो कमजोर आवाज सुन्दा, मेरो निर्जीव अस्तित्वमा पनि हृदय फुटेर आयो। म आफ्नो सबै धातुको जोडहरूले उसलाई भन्न चाहन्थें— "तिमी कमजोर

 छैनौ,! तिमीले प्रयास गर्‍यौ, र म तिम्रो हारको पनि सम्मान गर्छु।" हाम्रो यात्रा केवल सडकमा हिँड्नुमा मात्र सीमित थिएन। हाम्रो यात्रा थियो आत्म-खोजको। हरेक पाइलामा उसले नयाँ पाठ सिक्दै थियो। उसले केवल बाटोको अवरोधहरू मात्र होइन, मानिसहरूको मनको अवरोध पनि चिन्न थाल्यो।
कहिलेकाहीँ त म पनि थाक्छु। दिनभरि हिलो, धूलो र पत्थरहरूमा ठोक्किँदा मेरो शरीर खिइन्छ, कोरिन्छ। तर जतिबेला मलाई घरमा सफा गरेर आराम दिइन्छ, म अर्को दिनको यात्राका लागि तयार हुन्छु। किनकि मलाई थाहा छ, मेरो काम कति महत्त्वपूर्ण छ। उसको अटुट संकल्पले गर्दा नै म सेतो छडी बनेर संसार घुम्न पाएको छु, उच्च-स्तरीय कार्यालय जान पाएको छु। यदि ऊ सामान्य मानिस भएको भए, मलाई कसैले नोटिस पनि गर्ने थिएन।
मेरो सबैभन्दा ठूलो भूमिका त आशाको हो। म कुनै जादुई शक्ति बोकेर आएको होइन, तर म हिँड्ने आँट दिन्छु। म बिना घरको दैलो पनि एउटा पहाड जस्तो लाग्छ। मसँग हुँदा, टाढाको गन्तव्य पनि नजिक महसुस हुन्छ। म उसको सपनाको साथी हुँ, जसले अन्धकारमा पनि अगाडि बढ्ने बाटो देखाउँछु। आज ऊ एक सम्मानित, उच्च पदस्थ सरकारी अधिकारी हो। उसले मलाई हरेक दिन आफ्नो कार्यालय लैजान्छ। म उसको लागि लिफ्टको बटन, ढोकाको चौकोस, र भीडभाड भएको वेटिङ रुममा मानिसहरूको खुट्टाबाट बच्ने बाटो पत्ता लगाउँछु। मेरो आवाज, उसको लागि सुरक्षाको सङ्केत मात्र होइन, बरु ऊ 'यहाँ छ' भन्ने घोषणा पनि हो।
म त्यो दिन कहिल्यै बिर्सिन सक्दिन, जब उसले मलाई एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको VIP अफिसमा समेत लग्यो। ऊ आफ्नो देशको प्रतिनिधित्व गर्दै थियो। उसले मलाई छेउमा अडेस लगायो र आत्मविश्वासका साथ आफ्नो प्रस्तुति सुरु गर्‍यो। उसले भन्यो: "मेरो बाह्य दृश्य अवलोकन गर्न सक्ने दृष्टि छैन, तर मेरो दृष्टिले काम गर्ने मेरो साथी (मलाई देखाउँदै) सधैं मेरो साथमा हुन्छ। यसले मलाई बाटोको अवरोध मात्र देखाउँदैन, यसले मलाई मेरो स्वाभिमानको उचाइ पनि सम्झाउँछ।" जब उसले यो भन्यो, हलमा गहिरो सन्नाटा छायो। धेरैको आँखामा आँसु थियो। त्यो क्षणमा मलाई लाग्यो, म केवल सेतो छडी होइन। म त उसको अपराजित भावनाको प्रतीक, र उसको स्वाभिमानको चम्किलो झण्डा हुँ। ऊ मलाई लुकाउन चाहँदैन, किनकि म उसको साहसको जीवन्त प्रमाण हुँ।
मेरो आयु कति छ, मलाई थाहा छैन। तर जति दिन म यी विश्वासिला हातहरूमा रहन्छु, म इमान्दारीपूर्वक आफ्नो कर्तव्य निभाउनेछु। मलाई प्रयोग गर्नेलाई म कहिल्यै लड्न दिनेछैन, कहिल्यै अलमलिन दिनेछैन। आज पनि, मेरो शरीरमा कतिपय ठाउँमा चोटका दागहरू छन्— कुनै खाल्डोमा खसेर लागेको, कुनै मान्छेले ठेस लगाउँदा लागेको। ती दागहरू केवल घाउ होइनन्, ती त हाम्रो साझा संघर्षको पदक हुन्।
कहिलेकाहीँ ऊ रातको मौनतामा मलाई समातेर लामो समयसम्म बस्छ। उसले मेरो प्रत्येक भागलाई स्पर्श गर्छ। त्यो स्पर्शमा गहिरो प्रेम, आभार र विश्वासको अनुभूति हुन्छ। उसले मलाई समातेर फुसफुसाउँदै भन्छ— "मेरो प्रेम त तिमी हौ। तिमी

 नबोलेरै मलाई सबैभन्दा ठूलो भरोसा दिन्छौ। तिमीले मलाई थाहै नदिइकन मलाई एक्लोपनबाट मुक्त गर्‍यौ।" त्यो शब्द सुन्दा, मेरो निर्जीव अस्तित्वमा पनि आँसुको धारा बगे जस्तो लाग्छ। मेरो प्रत्येक धातुको जोर्नीमा उसको प्रेमको कम्पन महसुस हुन्छ। म उसकै लागि यहाँ छु।
उसले मलाई समातेर हाँस्दै भन्छ, "तिमी नभएको भए त म आज यो ठाउँमा कहाँ पुग्थेँ होला र!" त्यो क्षणमा मेरो सारा दुःख, सारा चोट बिर्सिन्छु। म केवल एउटा छडी होइनँ, म त जीवनको यात्राको एक भरपर्दो सहयात्री हुँ। मेरो सेतो रङ्गले उज्यालो नदेख्ने आँखाहरूका लागि संसारलाई देखाइदिन्छ।
म र ऊ। हामी दुई, एक अर्काका लागि बनेका हौं। म उसको दृष्टि हुँ, र ऊ मेरो अर्थ हो। जब ऊ मेरो 'ग्रिप' लाई बलियो गरी समात्छ, म उसलाई मौनतामा भन्छु— "जबसम्म तिम्रो पाइला चल्छ, तबसम्म म तिम्रो साथमा हुनेछु। तिम्रो लागि म यो संसारसँग जुध्न तयार छु।"
मेरो सेतो रङ, उसको जीवनको अन्धकारमा एउटा अविचल आशाको ज्योति बनेर चम्किरहनेछ। यो कथा, केवल एक सेतो छडी, अर्थात् मेरो कथा होइन। यो त एउटा मानवीय आत्माको विजयको गाथा हो, जसले आफ्नो सबैभन्दा ठूलो कमजोरीलाई आफ्नो सबैभन्दा ठूलो शक्तिमा रूपान्तरण गर्न सक्यो।
म आशा हुँ। म विश्वास हुँ। म बाटो हुँ। म सेतो छडी हुँ। र मलाई उसको जीवनमा यो सानो भूमिका खेल्न पाएकोमा कहिल्यै पश्चात्ताप छैन, मात्र गहिरो आत्मसन्तुष्टि छ... यो आत्मसन्तुष्टि नै मेरो जीवन हो।
म छु, उसको अनन्तको साथी। सदा उसको हातमा। र यही नै हाम्रो अमर प्रेमको सत्य हो। मलाई विश्वास छ, पाठकहरूले यो पढ्दा, उनीहरूको आँखाबाट झरेको प्रत्येक आँसु, मेरो मानिसको महानता र हाम्रो पवित्र बन्धनप्रति उनीहरूले गरेको गहिरो सम्मान हुनेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।