जिप दुर्घटनामा बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । 

नेपाल टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप दुर्घटनामा परी प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरु बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र जिप चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले बताए ।

घटनास्थलमै रहेका स्थानीय बासिन्दा दीपक कार्कीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । काँडाकोटमा रहेको नेपाल टेलिकमको टावरको ब्याट्री फेर्नका लागि मार्तडीबाट प्रमुख खड्कासहितको टोली काँडाकोट जाँदै थियो । टावर नजिकै पुग्दा जिप दुर्घटनामा परेको हो ।

टेलिकमको ब्याट्री फेर्ने कार्यका लागि सहयोग लिइएका बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोल्टी पठाइएको कार्कीले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।