राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय विभेद र छुवाछूतजस्ता सामाजिक कुरीतिहरूको अन्त्यका लागि हरेक व्यक्तिले आफ्नै व्यवहारबाट सुरुवात गर्नुपर्ने बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले राज्यका सबै तहका संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नेपाली जनताले ऐतिहासिक रूपमा सामाजिक कलङ्कका रूपमा रहेको छुवाछूत प्रथा विरुद्ध दृढ भएर लाग्नुपर्ने बताएका हुन् ।
‘नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन,’ शुभकामना सन्देशमा भनिएको छ ।
नेपालको संविधानले विविधताबीचको एकता, सामाजिक सहिष्णुता र समावेशी समाज निर्माणको स्पष्ट मार्गदर्शन दिएको भन्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनमा सबैको सक्रियता अपरिहार्य भएको उल्लेख गरे ।