अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए ।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको नकर्मीको भनाइ छ ।
मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।
यस्तै आचार्यलाई सङ्क्रमणको जोखिम कम गर्न हाललाई भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ ।