समानुभूति नेपालले;अस्पतालमा गरिब बिरामी र कुरुवालाई दैनिक ७०० बढीलाई निःशुल्क खाना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँका ठूला अस्पतालहरूमा उपचारका लागि आएका गरिब बिरामी र उनीहरूका कुरुवाले भोकै बस्नु नपरोस् भनेर एउटा विशेष अभियान चलिरहेको छ । यो अभियानको नेतृत्व समानुभूति नेपाल र त्यसका संस्थापक तुलसी श्रेष्ठले गरेका छन् ।

साढे पाँच वर्षदेखि निरन्तर चलिरहेको यो अभियानले हरेक दिन सयौँ मानिसहरूलाई खाना खुवाउँछ । यो प्रयासले बिरामीहरूको दुःखमा थोरै भए पनि मलम लगाउने काम भएको छ ।

 

 

 

यो अभियान कोरोना महामारीको समयमा भएको लकडाउनका बेला सुरु भएको हो । सुरुमा सडकमा अलपत्र परेका मानिसहरूलाई खाना खुवाइएको थियो । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी र तिनका आफन्तले खाना नपाएको देखेपछि तुलसीले यो सेवालाई अस्पतालमा निरन्तरता दिने निर्णय गरे । अनि यो सेवा अस्पतालहरूमा केन्द्रित भयो ।

पहिले वीर अस्पतालमा बिरामी र कुरुवाहरूलाई खाना दिन थालियो । त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भयो । अहिले यो अभियान काठमाडौं उपत्यकाका ५/६ अस्पतालमा जारी छ ।

समानुभूति नेपालले अहिले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कीर्तिपुर अस्पतालमा सेवा खाना खुवाइरहेको छ । यो अभियानले नेपालका दुर्गम ठाउँबाट उपचारका लागि काठमाडौँ आएका विपन्न र परिवारविहीन बिरामीहरूको व्यवस्थापन पनि गर्छ ।

खाना खुवाउने समय र स्थान

समानुभूति नेपालको टोली खाना बनाउन र वितरण गर्न हरेक दिन बिहानदेखि रातिसम्म सक्रिय रहन्छ ।  उनीहरू दैनिक करिब १५ घण्टा सेवामा खटिन्छन् ।

बिहानको खाना वितरण बिहान वीर अस्पतालबाट सुरु हुन्छ । साढे ९ बजे वीर अस्पताल पुगेर बिरामीहरूलाई खाना खुवाइन्छ ।
त्यसपछि साढे १० बजे कान्ति बाल अस्पताल पुग्छ । ११ बजे गंगालाल अस्पतालमा पुगेर खाना वितरण गरिन्छ । त्यसपछि सबै काम सकेर दिउँसो १२ बजेतिर टोली फर्किन्छन् ।

 

दिउँसो १२ देखि २ बजेसम्म खाली समय हुन्छ । यो समयमा सरसफाइ, तरकारी काटकुट सङ्कलन र अन्य तयारी गरिन्छ ।

दिउँसो २ बजेदेखि बेलुकाको खाना पकाउन सुरू हुन्छ । बेलुकाको खाना वितरण ५ बजे कीर्तिपुर अस्पतालबाट सुरु हुन्छ । ६ बजे पुगेर बिरामीहरूलाई खाना खुवाइन्छ । ७ बजे राष्ट्रिय ट्रमा सेन्टर पुगिन्छ । साढे ७ देखि ८ बजेसम्म खाना वितरण गरेर साढे ८ देखि ९ बजेसम्म फर्किन्छन् ।

समानुभूति नेपालको कार्यालय कपन फैकामा छ । तुलसीले एउटा घर भाडामा लिएका छन् जहाँ खाना बनाउने र काठमाडौँ बाहिरका दुर्गम क्षेत्रबाट आएका बिरामीहरूलाई आश्रय पनि प्रदान गर्छन् । उपचारका लागि लामो समय बस्नुपर्ने बिरामीहरू यहाँ भेटिन्छन् ।जुम्लाका एक व्यक्ति, चार वर्षदेखि यहाँ बसिरहेका छन्।

खाना पकाउने खर्च न्यून बनाउन तुलसीले विभिन्न उपाय अपनाएका छन् । दाउरा वा पुराना फर्निचर जलाएर खाना पकाइन्छ, तरकारी बजारबाट प्राप्त निःशुल्क तरकारी प्रयोग हुन्छ।

साथै, नेपालीहरूको उदार मनले पनि यो अभियानलाई बल दिएको छ । जन्मदिन, तिथि, एनिर्भसरी वा अन्य विशेष अवसरमा व्यक्तिहरूले स्वैच्छिक सहयोग प्रदान गर्छन् । ‘हामीलाई बाहिरबाट कुनै ठूलो फन्डिङ आएको छैन’ तुलसी भन्छन्, ‘हाम्रो काम देखेर प्रभावित भएका व्यक्तिहरू, अस्पतालमा भेटिएका बिरामी र सामाजिक सञ्जालमार्फत जोडिएका मनकारीहरूको सानो–सानो सहयोगले यो सम्भव भएको हो ।’

अभियानको प्रभाव

यो अभियानले हरेक दिन बिरामी र कुरुवा गरी करिब ७०० जनालाई खाना खुवाउँछ । कहिलेकाहीँ बिरामीहरू डिस्चार्ज हुने वा नयाँ आउने कारणले सङ्ख्या थोरै तलमाथि हुन्छ । अभियानले दूर दराजबाट आएका विपन्न परिवारहरूलाई लक्षित गर्छ, जसलाई उपचारका लागि काठमाडौँ आउँदा आर्थिक समस्या पर्छ । धेरै बिरामीहरूले घर खेत बेचेर उपचार गर्छन्, तर खानाको समस्या ठूलो हुन्छ । यो अभियानले उनीहरूलाई भोकै बस्नबाट बचाउँछ ।

 

समानुभूति नेपालमा अहिले २०-२५ जना बस्छन् । यसमा ब्रेन ट्युमर भएका, हातखुट्टा भाँच्चिएका वा जन्मजात समस्या भएका बिरामीहरू बस्छन् ।

दूर दराजबाट आएका बिरामीहरूको दुःखले तुलसी श्रेष्ठलाई यो काम गर्न प्रेरणा दिएको हो । उनीहरू स्थानीय अस्पतालबाट रिफर हुँदै काठमाडौँ आइपुग्दा आर्थिक रूपमा टुटिसकेका हुन्छन् ।

त्यसमा पनि पैसा नभएर खाना समेत खान नपाउँदा अवस्था के होला ? ‘अस्पतालमा बिरामी र कुरुवाहरू भोकै बस्नु परेको देखेर मन अमिलो भएको थियो’ तुलसी सुनाउँछन् ‘उनीहरूका लागि केही गर्न पाए हुन्थ्यो जस्तो लाथ्यो अनि यो अभियान सुरू गरें।’

पहिले उनी कतार एयरवेजमा किचनमा काम गर्थे । त्यसैले पनि नेपाल फर्केर लकडाउनमा धेरै जनाका लागि खाना तयार गर्न उनलाई सहज भयो । उनको परिवारको पनि पूर्ण साथ र सहयोग छ । श्रीमतीले पनि खाना पकाउने र बिरामीको स्याहारसुसारमा सहयोग गर्छिन् ।

सुरूमा चुनौतीहरू धेरै थिए । तरकारी सङ्कलन, खाना वितरण सबै आफैँ गर्नुपर्थ्यो । अहिले सहयोगी हातहरू बढेका छन् तुलसी सुनाउँछन् ‘यहाँ बस्दै आएका बिरामीका कुरुवाले पनि काममा सहयोग गर्नुहुन्छ, त्यसले गर्दा पनि सहज भएको छ ।’

 

‘उपचारका क्रममा घर, खेतबारी र आफन्त गुमाएका व्यक्तिहरूको कथा सुन्दा मन थाम्न गाह्रो हुन्छ’ उनी भन्छन्, ‘यस्ता दु:खद् कथाहरूले सेवा गर्न प्रेरणा दिएको छ । यो कामबाट आत्मसन्तुष्टि मिल्छ ।जीवनभरि यो सेवा जारी राख्न चाहन्छु ।’

बिरामीहरूको अनुभव

निः शुल्क खाना वितरण अभियानबाट फाइदा लिनेहरू धेरै खुसी छन् । नि:शुल्क खाना पाएर निकै सहयोग मिलेको हेटौँडाकी सावित्री राई बताउँछिन् । उनका छोरा मेरुदण्ड भाँच्चिएर ५ महिनादेखि ट्रमा सेन्टरमा उपचाररत छन्।

पहिले छोरीले खाना पकाएर ल्याइदिन्थिन् । तर, उनको सानो बच्चा भएकाले हरेकदिन खाना ल्याउन निकै गाह्रो हुन्थ्यो । हरेक छाक खाना किनेर खान सम्भव थिएन । ‘उपचार गर्नका लागि नै सहयोग उठाएका छौं’ सावित्री भन्छिन्, ‘खाना किनेर खान त झन् गाह्रो हुन्थ्यो तर यो अभियानबाट निःशुल्क खाना पाएपछि सजिलो भयो ।’

 

बाजुराका नितेश लोहारको खुट्टा बांगो भएर ६ महिनादेखि वीर अस्पतालमा उपचाररत छन् । खाना नि:शुल्क पाउँदा धेरै पैसा बचेको र उक्त पैसा उपचारमा खर्च गर्न पाएको उनी सुनाउँछन् । ‘यहाँ निःशुल्क पाएपछि उपचारमा पैसा बच्यो । यो सेवा धेरै राम्रो छ, पैसा नहुनेहरूले पनि भोकै बस्नु परेको छैन, पेटभरी खाना खान पाएका छन्’ लोहार भन्छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।