स्याङ्जाको भीरकोट नगरपालिकाले वैशाख ३ गते सबै ९ वटा वडाका ५८३ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी ‘मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर’ सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा सञ्चालित उक्त शिविर नेपाल सरकारले ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेका ६० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको थियो। स्वास्थ्य सेवालाई मुख्य आवश्यकताका रूपमा लिएर नगरपालिकाले ‘मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार यो शिविर आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था जाँच, परामर्श र आवश्यक औषधि वितरण गरिएको थियो।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रत्यक्ष संलग्नतामा सञ्चालित शिविरमा उच्च रक्तचाप, मधुमेह, दम, हाडजोर्नीसम्बन्धी समस्या जस्ता ज्येष्ठ नागरिकमा सामान्य रूपमा देखिने स्वास्थ्य समस्या पहिचान र उपचारमा जोड दिइएको थियो। शिविरमा स्थानीय स्वास्थ्यकर्मी तथा विशेषज्ञ टोलीले सेवा प्रदान गरेका थिए।
नगरपालिकाका अनुसार ज्येष्ठ नागरिकहरू नगरको अमूल्य सम्पत्ति हुन्। उनीहरूको स्वास्थ्य, सम्मान र संरक्षणलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो। यसअघि विभिन्न वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गर्दै आएको नगरपालिकाले वैशाख ३ गते सबै वडाका ज्येष्ठ नागरिकलाई समेटेर एकै दिन व्यापक शिविर आयोजना गरेको थियो।
कार्यक्रमले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा सहज पहुँच बढाउने र उनीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। स्थानीयहरूले पनि घरदैलोमा यस्तो शिविर पाउँदा खुशी व्यक्त गरेका छन्।
भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। “हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” नाराका साथ सञ्चालित यो कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना नगरपालिकाको छ।
यो शिविरले भीरकोटका ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने बताएको छ।